काठमाडौं– नेपालमा पछिल्लाे सात महिनामा विद्युतीय माध्यमबाट हुने बैंकिङ काराेबार मात्रै रू रू २९ खर्ब भन्दा धेरै भएकाे । एटीएम, वालेट, मोबाइल बैङ्किङ, पीओएस, क्यूआरकोड, आरटीजीएस, ईसीसी, आईपीए, कनेक्ट आईपीएस, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, इन्टरनेट बैङ्किङ, ब्रान्चलेस बैङ्किङ र ई–कमर्स मार्फत रू २९ खर्ब १९ अर्ब ५१ करोड विद्युतीय काराेबार भएकाे नेपाल राष्ट्रबैंकले जनाएकाे छ ।
गएकाे साउनदेखि माघ मसान्त सम्म एटीएम मार्फत मात्रै रू ४ खर्ब ३ अर्ब ५९ रुपैयाँ काराेबार भएकाे राष्ट्रबैंककाे तथ्यांक छ । त्यसमध्ये पनि माघ महिनामा मात्र ६० अर्ब रुपैयाँ एटीएमबाट कारोबार भएको छ । आर्थिक वर्षको सात महिनामा पोइन्ट अफ सेल (पीओएस) बाट पनि १७ अर्ब ८८ करोड ६० लाख भुक्तानी भएको छ । पीओएस मेसिनमा उपभोक्ताले आफ्नो एटीएम कार्ड स्वाप गरेर भुक्तानी गर्छन् ।
विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबार बढ्दै गएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने सरकारको नीतिअनुरूप नेपाल राष्ट्र बैङ्कले अहिले नगदरहित कारोबारलाई प्रोत्साहन गर्दै आएको छ ।
मोबाइल बैङ्किङ्गमार्फत अहिले दैनिक २ लाख रुपैयाँसम्मको कारोबार गर्न सकिनेछ । यसअघि यो सीमा १ लाख रुपैयाँसम्मको थियो । त्यस्तै इन्टरनेट बैङ्किङ्गमार्फत हुने कारोबारको सीमा दैनिक २० लाख छ । यसअघि यस्तो कारोबारको सीमा १० लाख रुपैयाँ तोकिएको थियो ।
कोरोना महामारीका कारण बैङ्किङ्ग प्रणालीमा विद्युतीय कारोबार बढ्दै गएको र सरकारको नीति पनि सोहीअनुसार भएकाले राष्ट्र बैङ्कले समयअनुसार कारोबार रकमको सीमा परिवर्तन गर्न सक्ने व्यवस्था मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामा गरेको छ ।
प्रतिक्रिया