एनआइसी एशिया लघुवित्तको शेयर कारोबार ७ महिनापछि खुल्यो

बुधबार, १८ चैत्र २०७७, ०८ : १९

काठमाडौं - एनआइसी एशिया लघुवित्तको शेयर धितोपत्रको दोस्रो बजारमा कारोबारमा आएको छ । उक्त सेयर ७ महिनापछि आजबाट कारोबारमा आएको हो । 

मर्जर प्रकृयाका कारण गत साउन ३२ गतेदेखि रोक्का रहेको लघुवित्तको शेयर कारोबार एकीकृत कारोबार र शेयर सूचीकरणपछि मर्जर सम्झौताको सात महिना पश्चात खुला भएको छ ।

एनआइसी एशिया र स्वदेशी लघुवित्त बीच १००ः९४ कित्ता शेयर स्वापको अनुपातमा मर्जर सम्पन्न भएको हो । मर्जरपश्चात दोस्रो बजारमा शेयर कारोबारको लागि मंगलबार नेप्सेमा एनआइसी एशिया लघुवित्तको नाममा स्वदेशी लघुवित्तको २५ लाख ९४ हजार ४०० कित्ता शेयर सूचीकृत भएको छ । 

शेयर सूचीकरणसँगै नेप्सेले लघुवित्तको रोक्का रहेको शेयर फुकुवा गरेको छ । मंगलबार शेयर सूचीकरणपछि आजबाट एनआईसी एसिया लघुवित्तको नामबाट दोस्रो बजारमा शेयर कारोबार खुल्ने भएको हो । 

नेप्सेले लघुवित्तको पहिलो शेयर कारोबारको लागि ७६५.१२ रुपैयाँको कारोबार रेञ्ज तोकेको छ । मर्जरको बखत लघुवित्तको ७५९ रुपैयाँमा शेयर कारोबार रोक्का भएको थियो ।

एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्ज भएर चैत ८ गते आइतबारदेखि एकीकृत कारोबार थालेका थिए ।

बुधबार, १८ चैत्र २०७७, ०८ : १९

प्रतिक्रिया