एक हजार पाँच सय घरधुरीका लागी लिफ्टिङ खानेपानी आयोजना !

२ बर्ष अगाडि

व्यास नगरपालिका–१० स्थित चिसापानी देवीडाँडा बृहत लिफ्टिङ खानेपानी आयोजनाको निर्माण शुरु भएको छ । त्यस क्षेत्रका बासिन्दाले खानेपानीको चर्को समस्या झेल्दै आएको हुँदा त्यसलाई दृष्टिगत गर्दै सङ्घीय सरकारको रु तीन करोड विनियोजन गरेपछि निर्माण कार्य अघि बढाइएको हो । 

व्यास–९, १० र ११ को सिमानामा पर्ने चिसापानीबाट पानी ल्याएर लिफ्टिङ गर्न लागिएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए । लिफ्टिङ गरिएको पानी सङ्कलन गर्नका लागि देवीडाँडामा पाँच लाख लिटर क्षमताको भण्डारण ट्याङ्की निर्माण कार्य थालिएको उनले बताए। चिसापानीबाट करीब एक हजार २०० मिटर दूरीबाट पाइपमा ल्याइएको पानीलाई देवीडाँडासम्म लैजानका लागि करीब २६५ मिटर उचाइमा लिफ्ट गरिने उनले बताए । 

देवीडाँडामा भण्डारण ट्याङ्की निर्माण गरेपछि बस्तीअनुसारको आठवटा शाखा ट्याङ्की निर्माण गरेर पानी वितरण गर्ने योजना रहेको उहाँले बताउनुभयो । सो आयोजना सम्पन्नपश्चात् त्यस वडाका अँधेरीभञ्ज्याङ, दुम्सीकोट, दुम्सीचौर, बरचौर, शीतल गुफा, नयाँ बस्तीलगायतका करीब एक हजार ५०० घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछ । 

सो आयोजनाको निर्माणका लागि ग्यालेक्सी कन्सट्रक्सन प्रालि चितवनले जिम्मा पाएको छ । दुई वर्षीय योजना रहेकाले विसं २०७९ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आयोजना सम्पन्नपश्चात् त्यस क्षेत्रका बासिन्दाले प्रशस्त मात्रामा पानीको प्रयोग गर्न पाउने गरी आयोजनाको कार्य अघि बढाइएको छ । दुम्सीचौर टोल विकास संस्थाका अध्यक्ष चेतबहादुर दरैले पानीको साह्रै दुःख भोग्नुपरेको गुनासो पोखे । आयोजना सम्पन्नपछि पानीको समस्या समाधान हुने अपेक्षा गरिएको उनले बताए ।

२ बर्ष अगाडि

प्रतिक्रिया