गौतमबुद्ध विमानस्थल निर्माण सकिन लाग्यो, भारतले देला उडान अवतरणको स्वीकृति

५ बर्ष अगाडि

काठमाडौं – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थल हालको गतिमा काम भए आगामी ६ महिना भित्र पूर्ण रुपमा सञ्चालन योग्य हुनेछ । हाल सञ्चालनमा रहेको धावन मार्गलाई विस्थापन गरेर आन्तरिक उडान तथा अवतरण समेत नयाँ धावनमार्गबाट हुनेछ ।

यो त आन्तरिक विषय भयो, तर बाह्य विषय भने सो विमानस्थल सञ्चालनमा आउने तयारी भइरहँदा ठूला जहाज उडान तथा अवतरणका लागि भारत सरकारको स्वीकृति जरुरी पर्दछ । कारण हाल निर्माण भइरहेको विमानस्थलको असाध्यै नजिक नेपाल भारत सीमा रहेको छ ।

नेपालमा प्रवेश गर्ने हवाई बिन्दुमा विषयमा पहिलो चरणमा सहमति जनाएको भारत सरकारको नागरिक उड्डयन प्राधिकरणले पछिल्लो पटक सहमतिबाटछ पछाडि हटेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा क्रममा विभिन्न पाँच बिन्दुबाट हवाई जहाज प्रवेश गर्न दिने भनिएपनि पछिल्लो पटक भारतीय कर्मचारी एवम् नागरिक उड्डयनका अधिकारी सहमत हुन सकेका छैनन् ।

उनीहरुले सैन्य उडानको क्षेत्र नै भन्दै नेपालले प्रस्ताव गरेको हवाई बिन्दुबाट जहाज प्रवेश गर्न दिने पक्षमा नभएका कारण अब पुनः विषय राजनीतिक तहमा नै पुगेको छ ।

भारतमा केही समय भित्रै आम निर्वाचन हुन लागेको छ । निर्वाचनबाट मोदी नेतृत्वको भारतीय जनता पार्टी नै विजयी होला वा नहोला त्यो उनीहरुको विषय हो । तर करिब आठ अर्ब खर्च गरेर निर्माण सम्पन्न हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सहजै सञ्चालनमा ल्याउन सकिएला वा नसकिएला त्यो भने गम्भीर एवम् जटिल प्रश्नको रुपमा खडा भएको छ ।

सरकारले विमानस्थल निर्माणको कामलाई गति दिन हदैसम्मको प्रयास गर्दै आएको छ । लामो समय स्थानीय ठेकेदार र चिनियाँ ठेकेदारकाबीचमा रहेको विवाद समेत समाधान भएको छ । हाल युद्धस्तरमा विमानस्थल निर्माणको काम अगाडि बढीरहेको छ ।

हाल धावनमार्गको कालोपत्रेको काम भइरहेको छ । यस्तै उपकरण जडानका लागि समेत बोलपत्रको प्रक्रिया अगाडि बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तयार पारेको पछिल्लो समयसीमाअनुसार आगामी जेठ भित्र विमानस्थल पूर्ण रुपमा सञ्चालन योग्य हुनेछ । तर विमानस्थल बन्ने तर उडान र अवतरणका लागि भारतले स्वीकृति नदिने हो भने विमानस्थल बनेर मात्रै केही हुने अवस्था छैन ।

विमानस्थल निर्माणको काम सकिन लागिरहेको अवस्थामा उडान तथा अवतरणका लागि आवश्यक स्वीकृतिका लागि सरकारले हालसम्म कुनै पनि प्रयास गरेको देखिदैन । यद्यपी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सो विषयमा कुनै पनि चिन्ता लिनु नपर्ने बताउँछन् ।

उनी भन्छन् – प्रक्रियाहरु सबै स्मूथ रुपमा अगाडि बढेका छन् । हाम्रो हालको प्रमुख काम विमानस्थल निर्माण सम्पन्न गर्नु हो , त्यसपछि प्राथमिकताहरु आफै निर्धारण भएर जानेछन् ।

काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा लिइएको गौतमबुद्ध विमानस्थलाई सुविधा सम्पन्न बनाउने प्रयासमा समेत आफूहरु लागेको उनको भनाइ छ । तर भारत सरकारले कथं कदाचित उडान तथा अवतरणमा सहमति नदिएको खण्डमा राज्यको ठूूलो लगानी खेर जाने  अवस्था त आउँदैन भन्ने चिन्ता र चासो बढ्दै गएको छ ।

नेपाल भारत सीमा नजिक विमानस्थल निर्माण हुँदाको दुःखको रुपमा पनि गौतमबुद्ध विमानस्थलाई लिन सकिन्छ । भारत सरकार आफैले गरेको पूर्व सहमतिबाट फिर्ता भएर पूरानै अवस्थामा पुगेको छ ।

केही समय पहिले द्विपक्षीय वार्ताका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका प्राधिकरणका प्राविधिकसहितका कर्मचारी वार्ता सफल नभएपनि निराश भएर फर्किएका थिए । प्रधानमन्त्रीले सहमति जनाएको विषयमा भारतीय कर्मचारीले अत्तो थापेको प्राधिकरणका कर्मचारीको भनाइ छ ।

उनीहरु पुनः विषय राजनीतिक तहमा नै हल हुनुपर्ने भन्दै सहमतिबाट पछाडि हटेका थिए । वार्तामा सहभागी एक प्राविधिक कर्मचारीकाअनुसार सहमतिबाट पछाडि हट्नु भनेको गौतमबत्रुद्ध विमानस्थल लगायतका विमानस्थल सञ्चालनमा ल्याउन समेत ठूलै पापाड पेल्नुपर्ने अवस्था हो ।

सरकारले सो विषयलाई समेत गम्भीरता पूर्वक लिएको र समस्या समाधान हुने मन्त्री अधिकारीको दावी छ । तर भारतीय कर्मचारी र नागरिक उड्डयन प्राधिकरणको व्यवहार भने चित्त बुझ्दो रहेको छ ।

हाल सञ्चालनमा रहेको धावनमार्गलाई समेत उपयोग गर्ने नीति लिइएको छ । उनका अनुसार धावनमार्ग, अन्तर्रा्ष्ट्रिय एप्रोन तथा अन्य भौतिक निर्माणको कामसँग एयर ट्राफिक कन्ट्रोलका लागि आवश्यक पर्ने उपकरणको आयात तथा जडानका लागि समेत आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । सो विमानस्थलमा बोइङ ७७७–२०० सम्मका जहाज उडान तथा अवतरणलाई योग्य हुनेछ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको समेत विकल्पमा सो विमानस्थललाई सञ्चालनमा ल्याउन सकिनेछ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थललाई उच्च प्राथमिकतामा राखेर निर्माण अघि बढाइएको र कुनै पनि समस्या हुन नदिइएको मन्त्री अधिकारीको भनाइ थियो । ‘हामीले नियमित अनुगमन गरिरहेका छौँ, सामान्यदेखि जटिल समस्यासमेत समाधान गरिएको छ, आयोजना, निर्माण व्यवसायी, परामर्शदाता तथा अन्य सरोकार भएका सबै निकायलाई पनि उत्तिकै परिचालन गरिएको छ । आशा गरौँ, आगामी जेठभित्र सो विमानस्थल सञ्चालनमा आउनेछ ।’

अत्यन्तै उत्साहका साथ निर्माण भइरहेको विमानस्थल सञ्चालनमा ल्याउन र त्यसलाई व्यवसायिक रुपमा सञ्चालनयोग्य बनाउन सरकारले अझै ठूलो कसरत गर्नुपर्ने अवस्था आइसकेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया