काठमाडौं, एनएमबि बैंकले निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने आज (बिहीबार) अन्तिम दिन रहेको छ। बैंकले वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा जेठ २ गतेदेखि १० वर्षे अवधिको २ अर्ब बराबरको ऋणपत्रमा ‘एनएमबि ऋणपत्र ८.५–२०८७/८८’ नामको ऋणपत्र बिक्रीमा ल्याएको हो।
बैंकले निष्काशन गरेको प्रतिकित्ता १ हजार दरको कुल २० लाख कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको हो भने ८ लाख कित्ता सर्वसाधारणमा बिक्री गरिएको हो। जसमा ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी ७ लाख ६० हजार कित्तामा सर्वसाधारण आवेदन दिन सक्नेछन्।
इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
ऋणपत्र निष्काशन गरेको बैंकलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ।
ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।
प्रतिक्रिया