नेपाल–चीन जाेड्ने सडक चार किमी निमार्ण बाँकी

आइतबार, ०९ जेठ २०७८, ११ : ४५

दुई छिमेकी राष्ट्र जोड्ने राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ इलाडाँडा पुगेर निर्माण कार्य स्थगित  भएको छ । कोभिडका कारणले आवश्यक सामग्री ढुवानी गर्न समस्या भएकाले गत हप्तादेखि स्थगित गरिएको हो । 

कोभिड—१९को सङ्क्रमणका कारण निषेधाज्ञा लागु भएपछि कोरिडोरको काम गर्न आवश्यक सामग्री ल्याउन नसकिएकाले निर्माण कार्य स्थागित गरिएको एलाइट निर्माण कम्पनीका प्रतिनिधि राजीव लामिछानेले बताए । सात वटा स्काभेटरले ट्र्याक खोल्ने कार्य गर्दै आएकामा बिर्तामोडदेखि निषेधाज्ञाका समयमा डिजेल ढुवानी गर्न समस्या भएपछि स्थगित गर्नुपरेको निर्माण कम्पनीले जनाएको छ । 

तमोर कारिडरले छिमेकी दुई देश चीन र भारतलाई जोड्ने छ । यस करिडोरमा चार किलोमिटर ट्र्याक खुल्न बाँकी रहेको उत्तर–दक्षिण लोकमार्गका सूचना अधिकारी तथा इन्जिनीयर माधव पौडेलले बताए । विस्फोटक पदार्थको प्रयोगले कडा चट्टान फोरेर ट्र्याक खोलिएको छ । अब कडा पहाड खोल्नु पर्ने धेरै कार्य नभएको कम्पनीका प्रतिनिधि लामिछानेले बताए।

सबै प्रक्रिया पूरा गरेर आगामी असार मसान्तअगाडि नै चीनसँग सडक सञ्जालले जोड्न लक्ष्य रहेको तर कोभिडले असर गरेको इन्जिनीयर पौडेलले बताए । चीनदेखि ओलाङचुङ्गोला हुँदै गैरीपाटीसम्म ३५ किलोमिटर लम्बाइ ट्र्याक खुलिसकेको छ । गैरीपाटीदेखि इलाडाँडासम्म ४ किलोमिटर दूरी  ट्र्याक खुल्न बाँकी रहेको हो । 

सुनसरीको चतारादेखि धनकुटाको मूलघाट, तेह्रथुम, पाँचथर र ताप्लेजुङ जिल्लाको फक्ताङ्लुङ–७ ओलाङचुङ्गोला हुँदै प्रत्यक्ष चीनसँग सडक सञ्जालले जोड्ने आयोजना अहिले इलाडाँडामा क्षेत्रमा पुगेर रोकिएको हो । तीन सय १४ किलोमिटर सडकले छिमेकी मुलुक भारत र चीन प्रत्यक्ष सडक सञ्जालले जोडिने पौडले बताए । 

चीन र नेपालको सीमा टिप्ताला नाका जोड्ने तमोर कोरिडोरको ट्र्याक निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको हो । यो सडकखण्डमा विभिन्न आकारका १० वटा मोटरेबल पुल निर्माण हुनेछन् । विसं २०६५ मा सडक निर्माण शुरु गरिएको थियो । त्यतिखेर यो सडक उपभोक्ता समिति गठन गरी निर्माण थालिएको थियो । विसं २०६७ मा यो सडकलाई राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त आयोजना घोषित गरी निर्माण अघि बढाइएको थियो ।

भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो सडकका रूपमा तमोर कोरिडोरलाई विकास गर्न लागिएको हो । यो सडक निर्माण गर्न अहिलेसम्म रु ४० करोड १९ लाख ७१ हजार खर्च भएको आयोजनाले जनाएको छ । यो सडक निर्माण सम्पन्न भएपछि भारततर्फ जोगबनी नाका र चीनतर्फ तिब्बतस्थित रियु व्यापारिक केन्द्रसँग नेपाल जोडिने छ ।
 

आइतबार, ०९ जेठ २०७८, ११ : ४५

प्रतिक्रिया