बैंक तथा वित्तीय संस्थालाई छोटो अवधिका लागि सेयर कारोबार गर्न रोक

बुधबार, १२ जेठ २०७८, १० : ५३

काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई छोटो अवधिका लागि सेयर कारोबार गर्न रोक लगाएको छ । मंगलबार परिपत्र जारी गर्दै केन्द्रीय बैंकले एक वर्ष भन्दा कम अवधिका लागि लगानी बन्देज गर्नुुका साथै बिक्रीमा समेत कडाइ गरेको हो ।

विद्यमान व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरुले संगठित संस्थाको सेयर, डिबेञ्चर वा सामूहिक लगानी कोषमा बढीमा आफ्नो प्राथमिक पुँजीको ३० प्रतिशतसम्म लगानी गर्न पाउँछन् । यसै प्रावधानका आधारमा बैकहरु सेयर कारोबारमा केन्द्रीत हुँदा थालेपछि राष्ट्र बैंकले कडाइ गरेको हो ।

बैंकहरु सेयर कारोबारमा संलग्न हुँदा बजारमा तीव्र उतारचढाव भएको र कारोबारसमेत उच्च भएपछि केन्द्रीय बैंकले सेयर किनबेचमा कडाइ गरेको बताइएकोे छ । 

बैंकहरुले खरिद गरेको सेयर बिक्रीमा समेत कडाइ गरिएको छ । बैंकहरुले सेयर खरीद गरेको एक वर्ष पुगेपछि पनि कूल लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको १ प्रतिशत रकमसम्मको मात्र बिक्री गर्न सक्ने व्यवस्था गरिएको छ । 

तर, बैंकहरुले सोमबारसम्म गरेको लगानी चालु आर्थिक वर्षको असारसम्म बिक्री गर्दा यो व्यवस्था लागू नहुने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

यसैगरी राष्ट्र बैंकले बैंकहरुलाई लघुवित्त संस्थाको सेयर खरिद गर्न बन्देज गरेको छ । बैंकहरुले विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको सेयरमा लगानी गर्न नपाइने र सोमबारसम्म खरिद गरेको सेयर २०७८ पुस मसान्तभित्र बिक्री गर्न निर्देशन दिएको छ ।

बुधबार, १२ जेठ २०७८, १० : ५३

प्रतिक्रिया