लायन्स क्लब अफ तनहुँ व्यास सिटीद्वारा सञ्चालित लायन्स फुड बंैकमार्फत ६० परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । विश्वभरि फैलिरहेको नयाँ भेरियन्टसहितको कारोना भाइरसको महामारीका कारण नेपालमा चलिरहेको निषेधाज्ञाले घरमा चुलो बल्न कठिनाइ भएको परिवारलाई खाद्यान्न सहयोग गरेको हो ।
निषेधाज्ञाको समयमा कुनै पनि परिवार भोकै बस्न नपरोस् भन्ने उद्देश्यका साथ लायन्सले फुड बैंक स्थापना गरी खाद्यान्न सहयोग गर्दै आएको लायन्स क्लब अफ तनहुँ व्यास सिटीका सचिव शान्ता बाँस्तोलाले जानकारी दिए । क्लबले एक हप्ताको खाद्यान्न प्याकेज लिएर अतिविपन्न परिवार, अपाङ्गता, मिर्गौलापीडित भएर थलिएका, छोरा बुहारीले हेरचाह नगरेका वृद्धवृद्धालाई सहयोग गर्दै आएको उनले बताए । अन्यमार्फत पठाउँदा दुरुपयोग हुनसक्ने भएकाले समितिका पदाधिकारीहरु नै सम्बन्धित व्यक्तिको घरदैलोमा पुगेर वास्तविकता बुझेर राहत वितरण गर्ने गरिएको क्लबले जनाएको छ ।
यस अभियानमा दमौलीमा रहेका खाद्य पसल, लायन्स क्लबका पदाधिकारी, विदेशमा रहेका नेपाली दाजुभाइको साथ र सहयोगका कारण अघि बढ्न प्रेरणा मिलेको क्लबका अध्यक्ष कुमार मल्लले बताए । हाम्रो कामको मूल्याङ्कन गरी विभिन्न क्षेत्रबाट प्रोत्साहनस्वरुप सहयोग प्राप्त भएकाले घामपानी नभनी सहयोग गर्दै आएको उनले बताए । यस अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने योजना रहेको तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं क्लबका चार्टर प्रेसिडेन्ट्स पवीन्द्रकुमार श्रेष्ठले बताए ।
प्रतिक्रिया