ताप्लेजुङका ६१ वडामा मोटर बाटो पुग्यो

२ बर्ष अगाडि

ताप्लेजुङको सबै वडा सडक सञ्जालले जोडिएका छन् । जिल्ला सदरमुकामदेखि सबै गाउँपालिकाका वडामा मोटर पुग्न थालेका हुन् । गत हप्ता सिरिजङ्घा गाउँपालिका–६ मामाङखेमा सडक पुगेसँगै जिल्लाका सबै वडामा सडक सञ्जालले जोडिएको जनाइएको छ । 

साठी वडामा अगाडि नै सडक पुगेको थियो । जिल्लाको सबै वडाका सडक पुगेको  सिरिजङ्घा ६का वडाअध्यक्ष पूर्णसिंह लिम्बुले जानकारी दिनुभयो । जिल्लामा नौ स्थानीय तहमा ६१ वडा रहेको छ । 

क्षेत्रफलको हिसाबले जिल्लाकै ठुलो फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला चीनसँग प्रत्यक्ष सडकसञ्जालले जोडिएको छ । ओलाङचुङगोलादेखि २४ किलोमिट तलसम्म चीनतर्फबाट सडक खन्ने काम भएको छ । यसैगरी सुनसरीको चतरादेखि तमोर कोरिडोर सडक चीनसँग जोडिन तीन किलोमिट मात्र बाँकीरहेको छ ।  राष्ट्रिय गौरवको सो सडक आयोजना कार्यालयका सूचना अधिकारी माधव पौडेलले जानकारी दिए । 

मिव्वाखोला गाउँपालिका–५ पापुङ गाउँमा सदरमुकामदेखि वडाको सीमानामा सडक प्रवेश गरेको मिक्वाखोला–५ का वडाध्यक्ष डण्डु लामाले जानकारी दिए । वडा कार्यालयसम्म पुग्न केही समय लाग्नेभए पनि आफ्नो वडामा सडकले जोडिएको उनले बताए । स्थानीय सरकारले योजना बनाउँदा सडकलाई पहिलो प्राथमिता दिएकाले दुर्गम बस्तीदेखि सदरमुकामसँग प्रत्यक्ष सडक सञ्जालले जोडिन पुगेको हो ।  

जिल्लाका प्रत्येक वडामा सडक पुगेसँगै स्थानीय समुदायलाई दैनिकीमा सहज भएको छ । जिल्लाको सबै वडामा सडक पुगेसँगै गाउँगाउँमा सार्वजानिक यातायातको लागि टिकेट काउन्टर खोलिएका छन् । दैनिक सदरमुकादेखि विभिन्न गाउँगाउँमा गाडी लाग्ने गरेको छ । कच्ची बाटो भएकाले ठुलो सिटको बस भने जान सकिरहेका छैनन् । 

आठराई त्रिवेणी गाउँपालिका र मैवाखोला गाउँपालिकादेखि धरानसम्म दैनिक बस सेवा   सञ्चालन हुन थालेको छ । मेरिङदेन गाउँपालिकाको दोभानदेखि विगतदेखि नै विर्तामोड,दमक विराटनगर बस सेवा सञ्चालन भएको छ । सिरिजंघाको खाम्देम्बे बजारदेखि विगतदेखि नै विर्तामोड,दमक विराटनगर बस सेवा सञ्चालनमा छ ।  गाउँगाउँमा  सडक सञ्जालले जोडिएसँगै गाउँदेखि सदरमुकाम जोडिएका छन् । गाउँगाउँ सडक सञ्जालले जोडिएसँगै आवश्यक खाद्यान्न सामग्री  ढुवानीमा सहज  भएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया