काठमाडौं - बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले राष्ट्र बैंकले जारी गरेको विदेशी लगानी सम्बन्धि विनियमावलीले विदेशी लगानीकर्तालाई नेपालमा सहजै लगानी गर्न सक्ने वाताबरण बनेको जनाएको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै परिसंघले ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ मा विदेशी लगानी सम्बन्धी गरिएको व्यवस्था सकारात्मक रहेको ठहरसहित सो व्यवस्थालेलगानी अभावको अवस्थालाई समाधान गर्ने विश्वास लिएको जनाएको छ ।
परिसंघले विगतदेखि नै उठाइरहेको विदेशी लगानी स्वीकृत गर्ने निकायबाट स्वीकृति पाएको अवस्थामा नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति आवश्यक नपर्ने व्यवस्था गर्नुपर्छ भन्ने धारणासहित रमष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई परिसंघले गत वर्षको असारमा सुझाव पेश गरेको थियो ।
आफुहरुले दिएको सुझाव सम्बोधन भएको भन्दै सिविफिनले यसबाट नेपालमा विदेशी लगानी ल्याउन सहज हुने र देशले अहिले भोगिरहेको लगानी अभावको निमित्त मार्ग प्रशस्त गर्ने अपेक्षा गरेको छ ।
कोभिड महामारी पछि विश्वका धेरै देशले लगानी आकर्षित गर्न विभिन्न प्रकारका योजना र राहत कार्यक्रमहरु संचालन गरिरहेको सन्दर्भमा नेपाल जस्तो देशले पनि बैदेशिक लगानी आकर्षित गर्न सहज लगानी मैत्री नीतिगत व्यवस्था र वातावरण सृजना गर्नु पर्ने परिसंघको भनाई छ ।
प्रतिक्रिया