सिटिजन्स बैंकको विशेष साधारण सभा सम्पन्न, सिर्जना फाइनान्सलाई ९५ रुपैयाँमा खरीद गर्न अन्तिम स्वीकृति

२ बर्ष अगाडि

काठमाडौं, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सातौँ विशेष साधारण सभा सम्पन्न भएको छ । सभाले सिर्जना फाइनान्स लिमिटेडलाई ९५ रुपैयाँमा खरीद गर्न अन्तिम स्वीकृति दिएको छ ।

बैंकको केन्द्रीय कार्यालय भवन, नारायणहिटी पथ, दरबारमार्ग, काठमाण्डौमा सम्पन्न भएको सभाले फाइनान्सको १०० कित्ता शेयरलाई बैंकको ९५ कित्ता शेयर (१ः०.९५) दिने गरी प्राप्ती गर्न सञ्चालक समसमितिलाई अख्तियारी प्रदान गरेको हो ।

बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा सम्पन्न विशेष साधारण सभाले सिर्जना फाइनान्स लिमिटेड र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको छ । 

यसैगरी, नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत प्राप्त, बिराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडको पनि आजै सम्पन्न विशेष साधारण सभाले समेत सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्तिका लागि स्वीकृति प्रदान गरिसकेको छ ।

दुबै बैंक तथा फाइनान्सको विशेष साधारण सभाले स्वीकृति दिएसँगै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई सिर्जना फाइनान्स लिमिटेड प्राप्ति गर्नका लागि बाटो खुलेको हो ।

२०७८ साल जेठ २६ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्स लिमिटेडलाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १ खर्ब ३८ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १ खर्ब २२ अर्ब रुपैयाँ हुनेछ । प्राप्ति पश्चात बैंकको कुल शाखा १८९ हुनेछ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया