प्रदेश २ सरकारको नीति  तथा कार्यक्रम प्रस्तुत, स्वास्थ्य, शिक्षा, कृषि तथा रोजगारीमा विशेष जोड

२ बर्ष अगाडि

काठमाडौं– प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश झा अहिराजले प्रदेशसभामा आर्थिक वर्ष २०७८÷०७९ का लागि नीति  तथा कार्यक्रम प्रस्तुत गरेका छन् । प्रदेशसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि तथा रोजगारीमा विशेष जोड दिइएको छ । यसका अतिरिक्त नीति तथा कार्यक्रममा चुरे संरक्षणलाई विशेष प्राथमिकताका साथ समावेश गरिएको छ । संघीय सरकारले व्यापार घाटा न्यूनीकरणका लागि गिट्टी बालुवा उत्खनन् गरी निर्यात गरेर व्यवसाय गर्ने खाले बजेटमा नै प्रस्तुत गरेपछि प्रदेश नम्बर २ को सरकारले नीति तथा कार्यक्रममा चुरे संरक्षणमा विशेष जोड दिएको छ । नीति तथा कार्यक्रममा चुरे विनाशबाट प्रदेशका साथै देश नै मरुभूमि तर्फ अग्रसर हुने भएकाले चुरे संरक्षणका लागि कानूनी तथा प्रशासनिक नीति अवलम्बन गर्ने उल्लेख गरेर संघीय सरकारलाई काउन्टर दिएको छ ।

चुरेको फेदमा हरियो वन विकास, चुरे क्षेत्रमा जलाशय निर्माण लगायतका नीति अपनाइने भएको छ । यसका साथै नदीको बालुवा, ढुंगा आदि ढुवानीमा नियन्त्रण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

नीति तथा कार्यक्रममा सबैभन्दा बढी जोड स्वास्थ्य क्षेत्रमा छ । स्वास्थ्य क्षेत्र अन्तर्गत कोरोना परिक्षणको दायरा फराकिलो बनाइने, पूर्ण खोप प्रदेश अभियान चलाइने, दलित तथा सीमान्तकृत समूदायलाई निःशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराइने नीति अख्तियार गरिने उल्लेख छ । त्यसैगरी जनकपुरधामको प्रादेशिक अस्पताललाई ५ सय शैय्याको अस्पतालको रुपमा विकास गरिने, ८ वटै जिल्लामा कम्तिमा एउटा स्वास्थ्य तथा आरोग्य केन्द्रको स्थापना गरिने उल्लेख छ । त्यस्तै प्रदेशको स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउन प्रदेशको आफ्नै स्वास्थ्य नीति  ल्याइने, स्वास्थ्य क्षेत्रमा सुशासन र पारदर्शिता ल्याउन प्रभावकारी कदमहरू चालिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

गणतन्त्रवादी नेताद्वय दुर्गानन्द झा र रामराजाप्रसाद सिंहका साथै स्वर्गीय गजेन्द्रनारायण सिंहको सालिक निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

प्रदेश सरकारले कोरोना महामारीका कारण उत्पन्न बेरोजगारी समस्या समाधान गर्नका लागि अध्ययन गरेर प्रदेशमै रोजगारी श्रृजना गर्ने भएको छ । यसका लागि मझौला उद्योगहरुलाई प्रोत्साहन गरिने,  वैदेशिक रोजगारबाट फर्केका युवाहरुका लागि नव प्रवद्र्धन कृषि परियोजनालाई निरन्तरता, कृषि बिमा कार्यक्रम, कृषि सडक निर्माण, कृषिमा आधुनिकिकरण लगायतका कार्यक्रमहरु ल्याइने जनाएको छ । 

प्रदेशसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएको पाइएको छ । प्रदेश सरकारले पछिल्लो वर्ष नै मधेशी शहीद मार्ग निर्माण गर्ने नीति तथा कार्यक्रममा समावेश गरेको थियो । यसका लागि पनि बजेटसमेत छुट्याइने जनाइएको छ । यस वर्ष पनि विगत झै नीति  तथा कार्यक्रममा पर्सादेखि सप्तरी जिल्लासम्मको २ सय ५० किलोमिटर सडक खण्डलाई मधेशी शहीद राजमार्गको रुपमा विकास गरिने नीति  तथा कार्यक्रममा समावेश गरिएको छ । हाम्रो प्रदेश, उज्यालो प्रदेश नाराका साथ प्रदेशलाई उज्यालो बनाउन ३ सय मेगावाट सौर्य उर्जा प्लान्टको स्थापना गर्ने निति पछिल्लो वर्षहरू जस्तै यस वर्ष पनि निति तथा कार्यक्रम दोहोर्याउँदै निरन्तरता पाएको छ ।

प्रदेश सरकारले आर्थिक रुपमा विपन्न, दलित तथा मुस्लिम छात्राहरुको शैक्षिक स्तर उकास्नका लागि विशेष छात्रवृति कार्यक्रम, प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा रहेको जनकपुर अञ्चल अस्पताललाई प्रदेश नमूना अस्पतालको रुपमा विकास गर्न ५ सय शैय्या सम्म पुर्याउने, जिल्ला अस्पतालहरूको स्तरोन्नति गर्ने,  ट्रमा सेन्टरको स्थापना लगायतका कार्यक्रमहरुलाई पुनः नीति तथा कार्यक्रममार्फत् दोहोर्‍याएका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया