जीवन विकास लघुवित्तको आईपिओ बाँडफाँड, ५ जनाले पाए ११ कित्ता

बुधबार, २३ असार २०७८, १० : २१

जीवन विकास लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले आज बुधबार बिहान क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गरेको हो । 

विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा विहान ९ः३० बजे आईपीओ बाँडफाँट भएको हो । कम्पनीको आईपीओ योग्य २० लाख १८ हजार ३०८ जनामा गोलाप्रथाको माध्यमबाट बाँडफाँट गरिएको हो ।

कुल योग्य आवेदकहरु मध्येबाट १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले हात पारेका छन् भने यी मध्ये ५ जनाले थप एक कित्ताका दरले ११ कित्ता शेयर हात पारेका छन् ।  

कम्पनीले असार ११ गतेदेखि १५ गतेसम्म सार्वजनिक निष्कासन मार्फत १८ लाख ४८ हजार १५ कित्ता शेयर विक्री गरेको हो । धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका बमोजिम सबै आवेदकलाई न्यूनतम १० कित्ताका दरले शेयर बाँडफाँट गर्नुपर्ने व्यवस्था बमोजिम कम्पनीको आईपीओ बाँडफाँट भएको हो । यस आईपीओमा २० लाख ८७ हजार ३१७ जनाको आवेदन परेको थियो । कुल आवेदकमध्ये ६९ हजार ९ जनाको आवेदन रद्द भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओमध्ये शून्य दशमलव ५ प्रतिशत दरको ३० हजार ४२० कित्ता कर्मचारीहरु र ५ प्रतिशत दरको ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषको लागि बाँडफाँट गरेको छ । कम्पनीको जारी पूँजी  ६० करोड ८४ लाखको ३२ दशमलव ५० प्रतिशत शेयर सर्वसाधारणमा विक्री गरेको हो ।

२०७७ साल फागुन १७ गते आईपीओ निष्कासनको लागि बोर्डमा निवेदन दिएको कम्पनीले जेठ ३० गते अनुमति पाएको हो । हाल कम्पनीको संस्थापक तर्फबाट मात्र चुक्ताभएको पूँजी  ४१ करोड ६ लाख ७० हजार रहेको छ ।

आईपीओ पश्चात यो पूँजी ६० करोड ८४ लाख पुगेको छ । आर्थिक वर्ष ०७६÷७७ सम्ममा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ  ३०५ दशमलव २७ रहेको छ भने प्रतिशेयर आम्दानी रू। १०४ दशमलव ९७ रहेको छ ।

नेप्सेले प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य पहिलो कारोबारका लागि तोक्ने हुदाँ कम्पनीले पहिलो कारोबारका लागि  ३०५ दशमलव २७ देखि  ९१५ दशमलव ८१ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ । 

कम्पनीको आईपिओको नतिजा  विभिन्न ४ तरिकाबाट आईपिओको नतिजा हेर्न सकिने छ ।  जस अनुसार जीवन विकास लघुवित्तको वेबसाइट http://jeevanbikasmf.com/ ,  बिकी प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट https://www.nmbcl.com.np/ , सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login  र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

बुधबार, २३ असार २०७८, १० : २१

प्रतिक्रिया