२१ किलोमिटर सडक कालोपत्र, ११ झोलुङ्गे र ७ वटा पक्कि पुल निर्माण

२ बर्ष अगाडि

कर्णाली प्रदेश सरकारले एक वर्षमा २१ किलोमिटर सडक कालोपत्र गरेको छ । आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रगतिको समीक्षा गर्दै २१ किलोमिटर सडक कालोपत्र गरेको जानकारी दिइएको हो । 

एक सय १३ दशमलव ६ किलोमिटर सडक ग्राभेल र ७५८ दशमलव दुई किलोमिटर नयाँ सडक बनाइएको छ । त्यस्तै प्रदेश सरकारले कर्णालीमा  ११ झोलुङ्गे पुल र सातवटा सडक पुल निर्माण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।   

ऊर्जा तथा विद्युतीकरणबाट कर्णालीका तीन हजार ५४० घरधुरीमा विद्युत् सुविधा विस्तार गरेको  कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले जानकारी दिए । मन्त्री नेपालीका अनुसार जनता आवास कार्यक्रमअन्तर्गत दलित विपन्न समुदायका ७६७ घर निर्माण कार्य पूरा भएको छ । 

कर्णाली प्रदेश सरकारले  दुई हजार १४५ हेक्टर जमीनमा थप सिँचाइ सुविधा उपलब्ध गराएको छ भने पाँच हजार ७१० थप घरधुरीमा स्वच्छ खानेपानी सुविधा उपलब्ध गराइएको प्रवक्ता नेपालीले बताए । 

त्यस्तै सरकारले नदी नियन्त्रणका लागि १८ दशमलव ७७ किलोमिटर  तटबन्धन निर्माण गरेर १८० हेक्टर थप जमीन उकास भएको  छ । विभिन्न कार्यक्रमअन्तर्गत विभिन्न जिल्लामा वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय भवन निर्माण लगायतका पूर्वाधार निर्माणका कार्य सम्पन्न भएको प्रगतिमा उल्लेख गरिएको छ  ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया