झापामा वडा अध्यक्षले नै लुटे कोरोना खोप, साउन १६ देखि एक साता निषेधाज्ञा

२ बर्ष अगाडि

काठमाडौं - भद्रपुरस्थित जिल्ला स्वास्थ्य कार्यालय झापाको गोदामबाट चार सय मात्रा भेरोसिल खोप लुटिएको छ । भद्रपुरका दुई वडाध्यक्षको नेतृत्वमा आएको समूहले खोप लुटेर लगेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

भद्रपुर–५ का वडाध्यक्ष बन्धु कार्की र वडा नम्वर–८ का अध्यक्ष मनोज सुब्बा गौरवको नेतृत्वमा आएको समूहले खोप लुटेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समितिको बैठकमा सहभागी भइरहेका बेला खोप लुटिएको बताइएको छ । 

साथै समुदायस्तरमा कोरोना भाइरस संक्रमण तीव्र बढेपछि रक्षात्मक अवस्थामा पुगेका झापाका स्थानीय तह जिल्लालाई पूर्णरुपले सिल गर्न सहमति भएको छ । बढ्दो संक्रमण रोक्न लकडाउनमा जानुको विकल्प नभएको निष्कर्ष निकाल्दै एक साताका लागि जिल्ला सिल गर्ने सहमति भएको हो । 

परीक्षणको ५० प्रतिशत हाराहारीमा संक्रमित थपिन थालेपछि प्रारम्भमा बुद्धशान्ति गाउँपालिकाले एक साताअघि आफ्नो क्षेत्र सिल गरेको थियो । बुद्धशान्तिको निर्णयलाई पछ्याउँदै बिहीबारसम्म झापाका दशवटा नगर तथा गाउँपालिकाले आफ्नो क्षेत्र सिल गर्न भ्याइसकेका छन् । 

बाँकी पाँचवटा स्थानीय तह पनि आफ्नो गाउँ तथा नगर क्षेत्र सिल गर्ने तयारीमा जुटेपछि जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समितिले सरोकारवालाको बैठक राखेर एकरुपता ल्याउने प्रयास गरेको हो । 

झापामा पछिल्लो १५ दिनमा ३२ सय भन्दाबढी कोरोना सङ्क्रमित थपिएका छन् । तीमध्ये ५५ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमण सुरु भएयता झापामा साउन १३ सम्ममा ४३७ जनाको मृत्यु भइसकेको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया