७५३ मध्ये ७५० ओटा स्थानीय तहमा वाणिज्य बैंकका शाखा, मोबाइल बैंकिङ प्रयोगकर्ता ३२ प्रतिशत

शनिबार, ०५ भदौ २०७८, ०८ : २३

काठमाडौं - देशभरका कुल ७५३ ओटा स्थानीय तहमध्ये ७५० ओटा स्थानीय तहमा वाणिज्य बैंकका शाखाको पहुँच पुगेको छ । धादिङको रुवीभ्याली, जाजरकोटको जुनीचाँदे र बझाङको साइपालमा भने वाणिज्य बैंकका शाखा खुल्न सकेको छैन । ती स्थानीय तहमा पनि वाणिज्य बैंकको शाखा कार्यालय स्थापना लागि आवश्यक पहल भइरहेको छ ।     
     
केन्द्रीय बैंकले शुक्रवार सार्वजनिक गरेको ‘नेपालमा वित्तीय पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन’ अनुसार २०७८ चैत मसान्तसम्म इजाजत प्राप्त क, ख र ग वर्गका बैंकिङ संस्थाका शाखा सङ्ख्या ५ हजार ९७८ पुगेको छ । प्रतिवेदनअनुसार निक्षेप खाता सङ्ख्या ३ करोड ६३ लाख ६६ हजार र कर्जा खाता सङ्ख्या १६ लाख ८२ हजार ८४५ रहेको छ । विवरणअनुसार नेपालका बैंक तथा वित्तीय संस्थाबाट १६ लाख ८२ हजार बढीले ऋण लिएको देखिन्छ ।     
     
मोबाइल बैंकिङ प्रयोगकर्ता ३२ प्रतिशत  
  
केन्द्रीय बैंकका अध्ययनअनुसार मोबाइल प्रयोगकर्ताको सङ्ख्या ३२ दशमलव शून्य ३ प्रतिशत छ । प्रविधिको प्रयोगअन्तर्गत प्रतिखाता एटीएम प्रयोगकर्ता २० दशमलव ३५ प्रतिशत, इन्टरनेट बैंकिङ प्रयोगकर्ता ३ दशमलव ८६ प्रतिशत मात्रै छन् । प्रतिखाता एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट प्रयोगकर्ता सबैभन्दा बढी वाग्मती प्रदेशमा छन् ।     
     
 त्यसमा एटीएम २६ दशमलव ११, मोबाइल बैंकिङ ३३ दशमलव १२ र इन्टरनेट बैंकिङ ६ दशमलव ४० प्रतिशत छन् । प्रतिखाता एटीएम प्रयोगकर्ता गण्डकी प्रदेशमा सबैभन्दा कम १४ दशमलव ५० प्रतिशत छन् । प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्ता प्रदेश नं २ मा सबैभन्दा कम २७ दशमलव शून्य १ प्रतिशत र प्रतिखाता इन्टरनेट बैंकिङ प्रयोगकर्ता कर्णाली प्रदेशमा सबैभन्दा कम शून्य दशमलव ५२ प्रतिशत छन् ।     
     
महानगरमा प्रतिखाता एटीएम प्रयोगकर्ता २७ दशमलव २८ प्रतिशत, इन्टरनेट बैंकिङ प्रयोगकर्ता ६ दशमलव ४८ प्रतिशत छन् । गाँउपालिकामा प्रतिखाता एटीएम प्रयोगकर्ता १० दशमलव ६१ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता १दशमलव शून्य ८ प्रतिशत छन् । प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्ता गाँउपालिकामा सबैभन्दा बढी ३३ दशमलव ३६ प्रतिशत छ ।     
     
उमेरगत हिसाबमा २० वर्ष उमेरभन्दा माथि प्रविधिको प्रयोग क्रमशः बढ्दै गएको देखिन्छ ।  युवापुस्तामा प्रविधिको प्रयोग उच्च रहेका हुँदा आगामी दिनमा प्रविधिको माग थप बढ्दै जाने देखिएको केन्द्रीय बैंकले बताएको छ ।
     

शनिबार, ०५ भदौ २०७८, ०८ : २३

प्रतिक्रिया