सरकारले भन्यो – ५ वर्षभित्र काठमाडौंमा रेल गुड्छ, चमत्कार गर्छौं

६ बर्ष अगाडि


 
काठमाडौं– भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठले चुनावका लागि बनाइएको साझा घोषणापत्रमा उल्लेख गरिएका सबै काम पाँच वर्षभित्र सम्पन्न गरिने दाबी गरेका छन् ।
 
आइतबार राजधानीमा  कार्यक्रममा बोल्दै मन्त्री महासेठले अहिलेको सरकारलाई काम नगर्नका लागि कुनै पनि बहाना नभएकाले पाँच वर्षभित्रमा लक्षित योजनाहरु सम्पन्न गरेरै छाड्ने बताए ।
 
आर्थिक समृद्धि र भौतिक पूर्वाधार विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओली प्रतिवद्ध रहेको उल्लेख गर्दै उनले एकै वर्षमा चमत्कार गर्न नसकिए पनि पाँच वर्षभित्रमा चमत्कार गरेर देखाउने बताए ।
 
महासेठले पाँच वर्षभित्रमा काठमाण्डौमा रेलमार्ग निर्माण हुने दाबी समेत गरे । महासेठले केही दिनभित्र नै काठमाण्डौ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर उप–महानगरपालिका, सडक विभाग, रेल विभाग, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाबीच विशेष छलफल गरेर काठमाण्डौ उपत्यकाको सडक र सवारी व्यवस्थापनका लागि योजना बनाइने स्पष्ट पारे ।
 
ईच्छाशक्ति भए जस्तोसुकै काम पनि गर्न सकिने उनको भनाई छ । “सिङ्गापुर, मलेसिया र साइप्रस विकास हुन सक्छ भने नेपाल किन सक्दैन । ईच्छाशक्ति भएपछि सबै सकिन्छ । पाँच वर्षभित्रमा उपत्यकामा रेल गुड्छ ढुक्क हुनुस् ।” महासेठले भने । “थाई एयरवेज र नेपाल वायुसेवा निगम एउटै वर्ष स्थापना भएको हो । थाइ एयरवेज आज कहाँ पुगिसक्यो । नेपाल वायुसेवा निगम कहाँ छ ? ईच्छाशक्तिका कारण हो ।”
 
नेपालमा विकासका लागि पर्याप्त स्रोत साधन भएपनि त्यसको सदुपयोग हुन नसक्दा विकास हुन नसकेको भन्दै उनले अब सबै स्रोत साधनको सदुपयोग गरिने बताए ।
 
विगतमा काम भएन भनेर अहिलेको सरकारलाई तुलना नगर्न उनले आग्रह गरे । “विगतलाई बिर्सौँ । अहिले हाम्रा राजनेताहरुमा ईच्छाशक्ति छ । प्रधानमन्त्री ओलीले विकास निर्माणसँग सम्बन्धित सबै मन्त्रालयको सोझै निगरानी गरिरहनुभएको छ ।”
अघिल्लो सरकारले देशको अर्थतन्त्र लथालिङ्ग पारेर छोडेको आरोप लगाउँदै उनले आफूहरु उच्च मनोबलका साथ काम गरेर सबै समस्या हल गर्ने बताए ।

६ बर्ष अगाडि

प्रतिक्रिया