सात किमी नयाँ ट्रयाक सडक निर्माण, ३५ वर्षपछि जोडियो सहजपुर–बोगटान

२ बर्ष अगाडि

काठमाडौं - तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत कूल सात किलोमिटर नयाँ ट्रयाक सडक निर्माण गरिएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले गत आर्थिक बर्ष ०७७/०७८ मकवानपुर, बारा र पर्सा जिल्लामा सडक बनाएको हो । 
 
उक्त आवमा उक्त जिल्लामा सङ्घीय सरकारको लगानीमा ३२.३६ किमी कालोपत्रे, १९.१ किमी ग्राभेल, ३७.३५ किमी बाटो सडक मर्मत र सात किमी बाटो सडक ट्रयाक चौडा भएका छन् । 

यसैबीच कार्यालयका अनुसार  दशैँलाई लक्षित गरी ती तीन जिल्लाका विभिन्न स्थानमा राजमार्गको  मर्मतसम्भारको अघि बढाइएको छ । बाराको धनसारदेखि पतलैयासम्म, मकवानपुरको हेटौँडा हुँदै लोथरसम्म र हेटौँडाको भैँसे हुँदै मकवानपुरको दामचौरका विभिन्न क्षेत्रमा सडकको खाल्डाखुल्डी मर्मतसम्भारको अघि बढाइएको हो ।  

३५ वर्षपछि जोडियो सहजपुर–बोगटान सडकको ट्र्याक
डोटी जिल्लाको सबैभन्दा पुरानो सडक सहजपुर–बोगटान सडकको ट्र्याक करिब ३५ वर्षपछि जोडिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको रु तीन करोड ८३ लाखका लागतमा सो सडक निर्माण गरिएको थियो ।  

बहुप्रतिक्षित बोगटान सडकको ट्र्याक आइतबार जोडिएपछि यहाँका नागरिकमा निकै खुसियाली छाएको छ । उक्त सडक खड्काकृष्ण, बङ्गलामुखी र पवन निर्माण कम्पनीले संयुक्तरुपमा निर्माण गरेका थिए  । 

वि. सं २०४३ देखि सडक निर्माण  सुरुआत भएको बताइएको छ । कैलालीको सहजपुर, विपीनगर, अत्तरकाँडा, सिमचौर, चवराचौतारा, गगुुडा, तिखात्तर, वासुदेवी, वायल, रानागाउँ हुँदै जिल्लाको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुर जोडिने उक्त सडकको ट्र्याक जोडिएपछि यहाँका नागरिकलाई आवागमनमा सहज भएको बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताए । 

उक्त सडक जोडिएपछि बोगटान फुड्सिल, बडिकेदार, केआइसिंह, जोरायल गाउँपालिकाका तथा दिपायल सिलगढी नगरपालिकाका नागरिक प्रत्यक्षरुपमा लाभान्वित भएका छन् भने अब यहाँका किसानले उत्पादन गरेका वस्तुले बजार पाउने भएका छन् । 

सडक सञ्जाल जोडिएपछि उत्पादित वस्तुले बजार पाउने र किसानको आयस्तर वृद्धि हुने जनाउँदै किसान बढी खुसी भएको स्थानीयवासी टक्करबहादुर कलेलले बताए । 

२ बर्ष अगाडि

प्रतिक्रिया