एक महिनामा भित्रियो झण्डै ७६ अर्ब रेमिट्यान्स,  श्रम स्वीकृतिको संख्या पनि उल्लेखनीय रुपमा वृद्धि

२ बर्ष अगाडि

काठमाडौं, चालु आर्थिक वर्षको पहिलो महिनामा झण्डै ७६ अर्ब रेमिट्यान्स भित्रिएको छ। साउन महिनामा मात्र नेपालमा ७५ अर्ब ९६ करोड रेमिट्यान्स भित्रिएको हो। नेपाल राष्ट्र बैंकले आजै सार्वजनिक गरेको वित्तिय विवरणले यस्तो देखाएको हो । 

तर अघिल्लो वर्षको तुलनामा भने रेमिट्यान्स आप्रवाह १८.१ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १३,८०० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९९.२ प्रतिशतले घटेको थियो । 

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २८६.१ प्रतिशतले वृद्धि भई ११,६२८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८० प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १६.४ प्रतिशतले घटेर ८५ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २० प्रतिशतले बढेको थियो ।

२ बर्ष अगाडि

प्रतिक्रिया