अब आफन्तले पठाएको रकम (रेमिट्यान्स) बुझ्न फोटो सहितको सक्कली परिचयपत्र चाहिने

मंगलबार, २६ असोज २०७८, ०८ : ४१

अब रेमिट्यान्सबापत प्राप्त रकम बुझ्दा फोटो सहितको सक्कल परिचयपत्र अनिवार्य रुपमा देखाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले विप्रषण (रेमिट्यान्स) भुक्तानीमा थप कडाई गर्दै  भुक्तानी गर्दा वेनिफिसियरी (सम्बन्धित व्यक्ति) को सक्कल परिचयपत्र अनिवार्य गरेको हो । 

विप्रेषण कारोबार गर्ने इजाजतपत्र प्राप्त कम्पनीहरुलाई निर्देशन जारी गर्दै  राष्ट्र बैंकले फोटो सहितको सक्कल परिचयपत्र रुजु गरी सोको प्रतिलिपि पछाडि सहिछाप समेत गराएर रकम भुक्तानी गर्न भनेको छ । 

केन्द्रीय बैंकका विदेशी विनियम व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलद्धारा जारी निर्देशनमा भनिएको छ, ‘विप्रेषण कारोबार गर्ने इजाजतपत्र प्राप्त कम्पनीहरु लगायत त्यस्ता कम्पनीबाट नियुक्त सब एजेन्टहरुले विद्यमान नियन्त्रण संयन्त्र का अतिरिक्त विप्रेषण वापतको रकम भुक्तानी गर्दा वेनिफिसियरी (सम्बन्धित व्यक्ति) को सक्कल नागरिकता।राहदानी। नेपाल सरकारले जारी गरेको फोटो सहितको परिचयपत्र रुजु गरी सोको प्रतिलिपि पछाडि सहिछाप समेत गराएर रकम भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्नेछ । ’

यसअघि कसैले पठाएको रेमिट्यान्स बुझ्दा  नागरिकता वा नेपाल सरकारले जारी गरेको अन्य परिचयको फोटोकपी बुझाएर रकमको भुक्तानी लिन सकिने ब्यबस्था थियो । नयाँ निर्देशन अनुसार  अब भने सक्कल परिचयपत्र नै रुजु गरेर प्रतिलिनपीमा समेत सहिछाप लगाएर मात्र भुक्तानी गर्नुपर्ने भएको छ । 

मंगलबार, २६ असोज २०७८, ०८ : ४१

प्रतिक्रिया