'महालक्ष्मी लिडर्स समिट २०७८' सम्पन्न

आइतबार, १४ कार्तिक २०७८, १४ : ५७

काठमाडौं- महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले पोखराको ल्याण्डमार्क होटलमा 'महालक्ष्मी लिडर्स समिट २०७८' सम्पन्न गरेको छ । 

कार्तिक १२ र १३ गते सम्पन्न उक्त सम्मेलनमा देश भरिबाट व्यवसायिक लक्ष्य पुरा गरेका बीमा अभिकर्ताहरुको सहभागिता रहेको थियो । जीवन बीमा व्यवसायमा परम्परागत बीमा व्यवसाय भन्दा फरक ढंगले आम जनतामा बीमाको पहुँच कसरी पुर्‍याउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । विकसित मुलुकमा शिक्षा, स्वास्थ्य र बृद्ध अवस्थाको जिम्मेवारी सरकारले लिएको हुन्छ । नेपाल जस्तो स्रोत साधन कम भएको देशमा बीमा क्षेत्रले त्यो दायित्व निर्वाह गरिरहेकोले अभिकर्ता पेशामा नेतृत्व कसरी विकास गर्ने, बीमालाई व्यवसायिक रुपमा संचालन गर्न कम्पनी र अभिकर्ताले गर्नु पर्ने कामहरुको विषयमा सहभागिहरुलाई तालिम दिइएको थियो । निम्न वर्गमा बीमाको पहुँच बृद्धि गर्न तथा युवा वर्गमा बीमा सम्बन्धि जनचेतना बृद्धिको लागि 'युवा संग महालक्ष्मी लाईफ' कार्यक्रमलाई अझै प्रभावकारी रुपमा गाउँ गाउँ सम्म पुर्‍याउने निर्णय समेत गरेको छ । 

प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले तथा नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले धन्यवाद ज्ञापन गरेको थियो। प्रबन्धक सिताराम धिमालले संचालन गरेको कार्यक्रमको पहिलो सत्रमा मोटिभेटर राजावावु साह र दोस्रो सत्रमा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले अभिकर्ता पेशामा नेतृत्व विकास सम्बन्धमा तालिम प्रदान गरेका थिए ।

आइतबार, १४ कार्तिक २०७८, १४ : ५७

प्रतिक्रिया