भरतपुर महानगरको नयाँ भवन बनाउँन ९४ करोड ३२ लाख बढि अनुमानित लागतमा बोलपत्र आह्वान

२ बर्ष अगाडि

भरतपुर महानगरपालिकाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ । सङ्घीय र प्रदेश सरकारसँग बजेटको सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया अघि बढाइएको हो ।

महानगरले ९४ करोड ३२ लाख ३० हजार २७१ अनुमानित लागतमा बोलपत्र आह्वान गरेको छ । सङ्घीय सरकारबाट ३५ करोड र बागमती प्रदेश सरकारबाट ठेक्का कबोल मूल्यको ५० प्रतिशत रकम सुनिश्चितता भइसकेको छ । रकम नपुग भएमा महानगरपालिकाले थप गर्ने छ । भूमिगत (अण्डरग्राउण्ड) पार्किङ उक्त  भवन १४ हजार १५२ वर्गमिटरको हुने छ ।
 
महानगरको आफ्नो खर्चले धान्न मुस्किल हुने भएपछि संघ र प्रदेशबाट रकम जुटाएर भवन निर्माणको प्रक्रिया थालिएको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले भवन ३० महिनाभित्र सम्पन्न गर्ने गरी बोलपत्र आव्हान गरिएको जनकारी दिए । 

भवनको भूमिगत तलामा ५०  कार र २५० वटा मोटरसाइकल पार्किङ गर्न सकिने छ । दुई बिघा १३ कठ्ठा १६ धुर जमिन रहेको क्षेत्रमा भवन बाहिर पनि पार्किङ र बगैँचा निर्माण गर्न ठाउँ रहने गरी भवन बनाउन लागिएको उहाँको भनाइ छ ।

भवनमा दुई  लिफ्ट हुनेछन् । ज्येष्ठ नागरिक प्रतीक्षा कक्ष, पुस्तकालय, सांस्कृतिक प्रदर्शनी कक्ष, सभाहल, हरेक तलामा दुई÷दुई  बैठक कक्ष हुने उहाँको भनाइ छ । भवनमा १५८ सानाठूला कार्य कक्ष रहने छन् भने २२१ कोठा रहने छन् । 

भवनका हरेक तलामा अपागमैत्री शौचालयसहित प्रत्येक तलामा पुरुष र महिलाका लागि अलग्गै शौचालय रहने छ । पूर्ण अपाङ्गमैत्री सो भवनले आउँदो ६० वर्षसम्म सेवा दिन सक्ने गरी नक्साङ्कन गरिएको सुवेदीले जानकारी दिनुभयो । हाल महानगरमा तीन लाख ६९ हजार जनसङ्ख्या रहेको छ । तस्बिर : रासस
 

२ बर्ष अगाडि

प्रतिक्रिया