४४ किलोमिटर हुलाकी राजमार्गको प्रगति २ वर्ष ५ महिनामा २० प्रतिशत मात्रै प्रगति

२ बर्ष अगाडि

काठमाडौं - मोरङमा हुलाकी राजमार्ग निर्माणको काम निकै सुस्त गतिमा भइरहेको छ । हुलाकी सडक निर्माणमा ढिलाइ हुँदा जनताले सास्ती पाएका छन् । निर्माण व्यवसायीको हेलचेक्क्रयाईले उक्त सडक अलपत्र परेको हो ।

सडक निर्माण योजनामा ढिलासुस्ती हुँदा यहाँका नागरिक निराश बनेका छन् । अहिलेसम्म सो सडकको भौतिक प्रगति २० प्रतिशत मात्र भएको बताइएको छ । मोरङको रतुवाखोलादेखि विराटनगर महानगरपालिकाको केशलिया खोलासम्मको ४४ किलोमिटर हुलाकी राजमार्गको प्रगति दुई वर्ष पाँच महिनामा २० प्रतिशत मात्र पुगेको छ । 

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजना निर्माणका लागि  प्राप्त बजेटमध्ये ८० प्रतिशत खर्च भइसकेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय  इटहरीले जनाएको छ ।  

विसं २०७६ कात्तिकमा चार लेन सडक निर्माण गर्ने ठेक्का समझौता भएको  थियो । सो आयोजनाको निर्माण कार्य विसं २०७९ कात्तिक २३ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्ले छ । 

मोरङको ४४ किलोमिटरमध्ये अहिलेसम्म चार दशमलव पाँच किलोमिटर मात्र कालोपत्र भएको छ भने सडकको दायाँबायाँ नाला निर्माण गर्ने काम भइरहेको छ । बजेटको अभावमा कामले गति लिन नसकेको योजना प्रमुख विजयकुमार थापाले बताए । 

सो सडकमा हालसम्म साढे चार किलोमिटर कालोपत्र, १० किलोमिटर सडकमा माटो भर्ने तथा ३० प्रतिशत पूर्वाधार र सात दशमलव पाँच किलोमिटर सबबेसको काम भएको छ । 

पूर्व–पश्चिम राजमार्गको वैकल्पिक सडकका रुपमा रहेको मोरङको हुलाकी सडकमा पाँचवटा निर्माण कम्पनीले काम गरिरहेका छन् । कालिका कन्स्ट्रक्शनले ठेक्का लिएको सडकमा ६० प्रतिशत काम भएको छ भने बाँकी चारवटा  ठेकेदार कम्पनीहरुको कामको प्रगति २० प्रतिशत मात्र रहेको छ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया