काठमाडौँ – कृषि मन्त्रालयले किसानको पक्षमा काम नगरेको भन्दै सत्तापक्षका सांसद हृदयेश त्रिपाठीले कृषि मन्त्रालय खारेज गर्न माग गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा त्रिपाठीले कुनै पनि सरकारले किसानका हीतमा काम नगरेको बताए ।
‘विषय उठाउँदा मलाई नै लाज भइसक्यो । तर जसलाई लाज लाग्नुपर्ने हो, उसले लाज नमानेपछि म पनि लाज नमानी भन्दैछु’, त्रिपाठीले भने, ‘सरकार जसको भए पनि किसानलाई केही भएन । उत्पादक हैरान र विचौलिया मालामाल भए ।’
सरकारले गत वर्ष उखुको खरिद समर्थन मुल्य तोके पनि ७० प्रतिशत भन्दा बढी किसानले पाउन नसकेको बताए । कृषि मन्त्रालयको जटिल सर्कुलरको कारण २५–३० प्रतिशत किसानले मात्र गत आर्थक वर्ष अनुदान रकम पाएको उनले बताए ।
यस वर्ष यसै कारण निर्धारित समय भन्दा डेढ महिना ढिलो चिनी मिलहरू सुरु भएको उनले बताए । ‘सरकारले मूल्य निर्धारण गरेपछि फरक मुल्य भुक्तानी गर्थे । अहिले सरकारको नियत देखेर हो कि के हो उनीहरूले डेढ महिना ढिलो मिल चलाए’, उनले भने ।
वर्तमान सरकारले आफ्नो निरिहिता प्रदर्शन गरेको उनले आरोप लगाए । यसको असरस्वरुप आउँदो वर्ष चिनीको अभाव हुने उनले चेतावनी दिए । ‘चिनी उत्पादन ढिलो चलेको हुनाले जेठ असारमा चिनीको अभाव हुन्छ। म संसदमा होस् हवासमा भन्दै छु’, उनले भने, ‘यसैका नाममा व्यापारी र विचौलियाको चलखेल हुनेछ । आयातका नाममा व्यापारी लाग्नेछन् ।’
नेपाली कांग्रेसको सरकार भएको बेला दुई लाख मेट्रिक टन चिनी भारतबाट आयात गरी नेपालमा उतपादित चिनी बिक्री हुनै नसक्ने अवस्था सिर्जना गरिएको स्मरण गराउँदै उनले फेरि त्यही अवस्था आउनेतर्फ सचेत गराउन आग्रह गरे ।
त्रिपाठीले व्यापारी, उद्योगपति र सरकारको लडाईँमा उखु उत्पादक किसान बली चढेको बताए । ‘सबै सरकारको हालत त्यही छ । किसानको हकमा काम नगर्ने कृषि मन्त्रालय खारेज गरे हुन्छ त्रिपाठीले भने ।’
प्रतिक्रिया