काठमाडौं – राष्ट्रिय प्रजातन्त्रका पार्टीका सांसद राजेन्द्र लिङ्देनले झापाको आफ्नो निर्वाचन क्षेत्रमा सरकारले नयाँ बजेट नपठाएको र अगाडिबाटै सञ्चालनमा रहेका बहुवर्षीय योजना पनि रोक्ने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले ती कार्यक्रमलाई तत्काल सुचारु नगरेमा र आफ्नो क्षेत्रलाई उपेक्षित गर्ने काम भए आफू अनशन बस्न पनि तयार रहेको बताए। ‘नसच्याए साँच्चिकै अनशन बस्छु, मेरो क्षेत्रका जनतालाई न्याय दिलाउने काममा अरु संघर्षका कार्यक्रम पनि गर्नेछु’, उनले भने। सत्तारुढ दलका कार्यकर्ताको सिफारिसका आधारमा योजना छनोट हुने गरेकाले आफ्नो क्षेत्रमा योजना नपरेको उनले बताए। कुनै ठाउँमा १० लाख मागेकोमा एक करोड १० लाख रुपैयाँ दिने, कुनै ठाउँमा एक रुपैयाँ पनि नदिने गरिएको उनले आरोप लगाए। सांसद अतहर कमाल मुसलमानले पनि बहुवर्षीय विकास निर्माणका आयोजना वर्तमान सरकारले रोक्ने काम गरेको बताए। यस्तो कार्य नरोकेमा सदन अवरुद्ध गर्ने उनको भनाइ थियो।नागिरक दैनिकमा खबर छापिएकाे छ ।
प्रतिक्रिया