लुम्बिनी केबलकार आगामी  फागुनदेखि सञ्चालनमा आउने

१ बर्ष अगाडि

काठमाण्डौँ -  टावरको सिभिल काम सकिएसँगै रुपन्देही जिल्लाको बुटवलदेखि पाल्पा जिल्लाको बसन्तपुरसम्म निर्माणाधीन लुम्बिनी केबलकार आगामी फागुनदेखि सञ्चालनमा आउने भएको छ।

काठमाण्डौँमा शुक्रबार आयोजित कम्पनीको १९औँ वार्षिक साधारणसभामा सञ्चालक समितिको प्रतिवेदन पेस गर्दै लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले  केबलकार टावरहरुको सिभिल निर्माण कार्य लगभग सम्पन्न भइसकेको र आगामी फागुनदेखि सञ्चालनमा आउने बताएका हुन्। ‘केबलकार टावरहरुको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ। टप स्टेसनमा मन्दिर एरियाको सिभिल निर्माण कार्य पनि द्रुत गतिमा अगाडी बढिरहेको कुरा जानकारी गराउन चाहन्छु’, उनले भने। 

अध्यक्ष ढकालले केबलकारको सम्पूर्ण गोन्डोला लगायतका उपकरणहरुको विदेशबाट आयत गर्ने कार्य सम्पन्न भई ९ वटा टावरमध्ये ७ वटा टावरको जडान कार्य सम्पन्न भइसकेको र बाँकी २ वटा टावरको जडान कार्य पनि अन्तिम चरणमा पुगेको बताए। ‘त्यस्तै टप स्टेसनमा केबलकार उपकरणहरुको जडान कार्य सम्पन्न भइसकेको छ भने बटम स्टेशनमा केबलकार उपकरणहरुको जडान कार्य अगाडि बढिरहेको छ’, उनले जानकारी दिए। 

यसका साथै ढकालले सम्पूर्ण इलेक्ट्रोमेकानिकल कार्यहरुको निर्माण तथा जडान गर्ने कार्य द्रुतगतिमा अगाडि बढिरहेको समेत जानकारी दिए। 

यो केबलकार परियोजनाको निर्माण कार्य २०७८ साल पुस महिनामा सुरु भएको थियो।

 

१ बर्ष अगाडि

प्रतिक्रिया