सनराइज क्यापिटलले ल्यायो विषेश छुट योजना

आइतबार, ०१ माघ २०७९, १० : ३४

काठमाण्डौँ - सनराइज क्यापिटलले मर्चेन्ट बैंकिङ सेवामा ३० वर्ष पूरा गरेको अवसरमा  विशेष छुट योजना ल्याएको छ। 

नेपालको मर्चेन्ट बैंकिङ सेवा प्रदान गर्ने पहिलो कम्पनीका रुपमा २०४९ माघ १ गतेका दिन एनआईडीसी क्यापिटल मार्केट्स लिमिटेडको नामबाट सञ्चालनमा आएको थियो। २०६७ मा एनआईडीसी क्यापिटल मार्केट्सको सहायक कम्पनीका रुपमा एनसीएम मर्चेन्ट बैंकिङको नाममा दर्ता कायम भई आफ्नो मर्चेन्ट बैंकिङ कारोबारलाई निरन्तरता दिँदै आइरहेको थियो। सनराइज बैंंकले २०७३ माघ २८ मा प्राप्ति गरेपश्चात यो कम्पनी सनराइज बैंकको सहायक कम्पनीका रुपमा सनराइज क्यापिटलको नामबाट नेपालको पुँजीबजारको विकास र विस्तारमा निरन्तर टेवा पुर्याउँदै मर्चेण्ट बैंकिङ सेवा प्रदान गर्दै आएको ३० वर्ष पूरा भएकोे छ। 

मर्चेन्ट बैंकिङ सेवा प्रदान गर्दै आएको ३० वर्ष पूरा गरेको उपलक्ष्यमा क्यापिटलले आज माघ १ गतेदेखि विभिन्न सेवाहरुमा छुटका योजनाहरु ल्याएको छ।

यस्ता छन् छुट योजना–

निःशुल्क डिम्याट खाता ३० दिनका लागि
निःशुल्क मेरो सेयर खाता ३० दिनका लागि
लगानी व्यवस्थापन सेवाको इन्ट्री लोड शुल्कमा ३ वर्षका लागि ३० प्रतिशत छुट
३० लाख र सो माथिको लगानी व्यवस्थापनका लागि इन्ट्री लोड ३० दिनका लागि निःशुल्क
कस्टोडायल सर्भिसको प्रशासनिक शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट
पहिलो ३० जना ग्राहकलाई निःशुल्क कस्टोडायल सर्भिस र पोर्टफोलियो काउन्सिलिङ 
संस्थागत परामर्श शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट
 
नेपालमा पहिलो सामुहिक लगानी कोषको सुरुआत गरेको इतिहासलाई कायम राख्दै कम्पनीले हाल दुईवटा म्युचुअल फन्ड ‘सनराइज फर्स्ट म्युचुअल फन्ड’ र ‘सनराइज ब्लुचिप फन्ड’को व्यवस्थापन गर्दै आइरहेको छ भने नयाँ म्युचुअल फन्ड ‘सनराइज फोकस्ड इक्विटी फन्ड’ निष्कासनका क्रममा रहेको छ। 

हाल कम्पनीले मर्चेन्ट बैंकिङ कारोबारअन्तर्गत नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सेयर निष्कासन तथा बिक्री प्रबन्धक, कोष व्यवस्थापक, सेयर रजिस्ट्रार, सेयर प्रत्याभूति, निक्षेप सदस्य, लगानी व्यवस्थापन, लगानी परार्मश सेवाको कार्य गर्दै आइरहेको छ।

तीन दशक लामो कार्यकालको इतिहासमा कम्पनीलाई हालको अवस्थासम्म आइपुग्न सहयोग गर्ने सम्पूर्ण आबद्ध संघसंस्थाहरु, ग्राहक तथा नियामक निकायप्रति कम्पनीले आभार प्रकट गरेको छ। 

आइतबार, ०१ माघ २०७९, १० : ३४

प्रतिक्रिया