न्यु बुटवल–गोरखपुर प्रसारण लाइनको नेपालखण्ड एमसिए नेपालले नै बनाउने

१ बर्ष अगाडि

काठमाडौँ-  न्यु बुटवल–गोरखपुर अर्थात् दोस्रो नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइनअन्तर्गतको नेपालखण्ड मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए)  नेपालले निर्माण गर्ने भएको छ ।

 १८ किलोमिटर लम्बाइ हुने उक्त खण्ड नेपाल विद्युत् प्राधिकरणले आफैँ बनाउने गरी एमसिए नेपालसँग प्रस्ताव गरेको थियो । तर, एमसिए नेपाल आफैँले नै उक्त खण्डको प्रसारण लाइन बनाउने भएको हो ।

अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)  सहयोगअन्तर्गत बन्ने चार प्रसारण लाइनको निर्माणका लागि गत मंसिरमा टेन्डर आह्वान भइसकेको छ । त्यसमध्ये न्यु बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको नेपालखण्डको पनि एक हो । प्राधिकरणको प्रस्तावबारे निर्णय नभएकाले टेन्डरमा यस प्रसारण लाइनलाई भने अप्सनमा राखिएको थियो । तर, अब सोही टेन्डरमार्फत नै उक्त प्रसारण लाइनको ठेक्का सम्झौता गरिने बताइएको छ । 

एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले उक्त प्रसारण लाइन बनाउन प्राधिकरणलाई नदिने बताए । ‘प्राधिकरणलाई दिँदा आयोजनाको निर्माणमा ढिलाइ हुने देखियो । किनकि, प्राधिकरणले निर्माण गर्ने भएपछि पुनः टेन्डर डकुमेन्ट बनाउनुपर्छ । त्यसपछि टेन्डर आह्वान गर्दा स्वतः ढिलाइ हुन्छ । साथै, हामीले बनाएको आयोजनाको डिजाइन प्राधिकरणलाई स्वीकार्य नहुन पनि सक्छ,’ उनले भने, ‘तर, हामीले यसलाई समेत अप्सनमा राखेर टेन्डर आह्वान गरिसकेका छौँ । तसर्थ, एमसिए नेपालअन्तर्गत नै उक्त प्रसारण लाइन बनाउने गरी छलफल भएको छ । यद्यपि, यसबारे औपचारिक निर्णय हुन बाँकी छ ।’

 प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि एमसिए नेपालअन्तर्गत नै उक्त प्रसारण लाइन बन्ने बताए । ‘प्राधिकरणभन्दा एमसिए नेपालमार्फत उक्त प्रसारण लाइन छिटो बन्ने देखियो,’ उनले भने, ‘सोहीअनुसार एमसिए नेपालअन्तर्गत नै उक्त प्रसारण लाइन बनाइने भएको छ ।’

एमसिसीअन्तर्गत योसहित लप्सीफेदी–रातामाटे–न्यु हेटौँडा (११७ किमि), रातमाटे–न्यु दमौली (९० किमि) , न्यु दमौली–न्यु बुटवल (९० किमि)  गरेर चार प्रसारण लाइन बन्नेछन् । यो प्रसारण लाइनको कुल लम्बाइ तीन सय १५ किलोमिटर हुनेछ भने आठ सय ५६ वटा टावर बन्नेछन् । यो निर्माणको टेन्डरमा प्रस्ताव पेस गर्ने म्याद भने आगामी २७ मार्चसम्म रहेको छ । उक्त प्रसारण लाइनहरू बनाउन कुल १९८ मिलियन डलर खर्च लाग्ने अनुमान गरिएको छ । 

चार सय केभी डबल सर्किट क्षमताको न्यु बुटवल–गोरखपुर प्रसारण लाइन नेपाल–भारत विद्युत् व्यापारका लागि निकै महत्वपूर्ण मानिएको छ । नेपालबाट निर्यात हुने विद्युत्को मात्रा बढ्दै गएमा हाल सञ्चालित ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन पर्याप्त हुँदैन । सोही अवस्थालाई लक्षित गर्दै कुल एक सय ४० किलोमिटर लम्बाइको न्यु बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन आयोजना अघि बढाइएको थियो । 

त्यसमा भारतखण्डको एक सय २२ किलोमिटर प्रसारण लाइनको निर्माण प्राधिकरण र पावर ग्रिड कर्पोरेसन अफ इन्डियाको संयुक्त लगानीमा स्थापित कम्पनीले अघि बढाइसकेको छ । प्राधिकरणका अनुसार हाल त्यसको टेन्डरमा प्राप्त प्रस्तावहरूको मूल्यांकन गर्ने काम भइरहेको छ ।

नेपालखण्डको प्रसारण लाइन भने पहिलादेखि नै एमसिसीअन्तर्गत बनाउने भनिएको थियो । तर, एमसिसी सम्झौताको कम्प्याक्ट संसद्देखि अनुमोदन नहुँदा यो आयोजनाको निर्माण पनि अन्योलमा थियो । भारतखण्डको प्रसारण लाइन निर्माणमा जाने र नेपालखण्डको निर्माण भने अन्योलमा पर्ने देखिएपछि प्राधिकरणले यस्तो प्रस्ताव अघि बढाएको थियो । अहिले एमसिसी कार्यान्वयनमा जाने पक्का भएसँगै एमसिए नेपालले नै उक्त आयोजना बनाउने भएको हो । ‘पहिला एमसिए नेपालबाट उक्त आयोजना ढिलो हुन्छजस्तो लागेर हामीले नै बनाउँछौँ भनेर प्रस्ताव पेस गरेका थियौँ,’ प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने, ‘तर, अहिले एमसिए नेपालअन्तर्गत नै बनाउँदा छिटो आयोजना बन्ने देखियो ।’

 जनवरीभित्रै सबस्टेसन निर्माणको टेन्डर, सडकको ढिलाइ हुने  
यसअन्तर्गत बन्ने चार प्रसारण लाइनलाई प्रसारण प्रणालीमा जोड्न रातमाटे, बुटवल र दमौलीमा चार सय केभी क्षमताका एक–एकवटा सबस्टेसन बन्नेछन् । त्यसको निर्माणका लागि जनवरीभित्रै टेन्डर आह्वान गर्ने एमसिए नेपालको तयारी छ । हाल त्यसका लागि आवश्यक तयारी भइरहेको एमसिए नेपालका कार्यकारी निर्देशक विष्टले बताए । यी तीन सबस्टेसन बनाउन ११४ मिलियन डलर खर्च हुने एमसिए नेपालको अनुमान छ । 

उता सडक मर्मतको टेन्डर आह्वान गर्न भने ढिलाइ हुने बताइएको छ । एमसिसीअन्तर्गत महेन्द्र राजमार्गको कपिलवस्तु, दाङ र बाँकेमा पर्ने ९९ किमि सडकखण्ड मर्मत गर्ने योजना छ । हाल त्यसका लागि डिजाइन बनाउनेलगायतका काम भइरहेको छ । आन्तरिक तयारी पूरा गरेर सडक मर्मतको टेन्डर आह्वान गर्ने बताइएको छ । सडक मर्मतमा ४४ मिलियन डलर खर्च हुने अनुमान छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया