काठमाडौं - जीवन बीमा कम्पनीहरु मध्ये अमेरिकन बीमा कम्पनी मेटलाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८ र ७९ का लागि सबैभन्दा पहिला बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले गत वर्षको बोनसदर सबैभन्दा पहिले सार्वजनिक गरेको हो ।
कम्पनीले आर्थिक वर्ष सम्पन्न भएको ६ महिना भित्रै एक्चुरियल मूल्याङ्कन सम्पन्न गरेर बीमितका लागि बोनस दर सार्वजनिक गर्न सफल भएको छ ।
गत आर्थिक वर्ष २०७८ र ७९ सम्मको बीमांकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमा लेखहरूको लागि बोनसदर निर्धारण गरिएको कम्पनीको भनाइ छ ।
कम्पनीले तीन प्रकारका बीमा लेखका लागि प्रतिहजार न्यूनतम रू. ४५ देखि अधिकतम रू. ८० सम्मको बोनसदर निर्धारण गरेको छ । सावधिक जीवन बीमा, शिक्षा संरक्षण योजना र अग्रिम भुक्तानी योजना गरी तीन किसिमका बीमा लेखमात्र कम्पनीले जारी गरेको छ । सावधिक जीवन बीमा योजना १ वर्षदेखि १५ वर्ष, १६ वर्षदेखि २० वर्ष र २१ वा सोभन्दा बढी अवधिको रहेको छ ।
यस बीमा योजनाअन्तर्गत १ देखि १५ वर्ष अवधिको बीमा लेखमा प्रतिहजार रू। ६०, १६ देखि २० वर्ष अवधिको बीमालेखमा रू। ७० र २१ वा सोभन्दा बढी अवधिको बीमा लेखमा रू। ८० सम्मको बोनस दर निर्धारण गरिएको छ । सावधिक जीवन बीमा योजनाअन्तर्गतका १५ वर्ष अवधिको बीमा लेख ३ हजार ५३५, १६ देखि २० वर्ष अवधिको बीमा लेख ४ हजार ७६१ र २१ वा सोभन्दा माथिको बीमा लेख १ हजार ५८४ ओटा जारी गरिएको कम्पनीको भनाइ छ ।
त्यस्तै शिक्षा संरक्षण योजनाअन्तर्गत पनि सोही अवधिका बीमा लेख जारी भएका छन् । शिक्षा संरक्षण योजनाअन्तर्गत १५ वर्ष अवधिको बीमा लेख १७ हजार ७९८, १६ देखि २० वर्ष अवधिको बीमा लेख १६ हजार ९९२ र २१ वा सोभन्दा बढी अवधिको बीमा लेख ४ हजार ८६२ ओटा जारी भएको छ । कम्पनीले शिक्षा संरक्षण योजनाका बीमा लेख १५ वर्ष अवधिका लागि प्रतिहजार रू। ६०, १६ देखि २० वर्ष अवधिको लागि रू। ७० र २१ वर्ष वा सोभन्दा माथिको लागि रू. ८० बोनस दर निर्धारण गरेको छ ।
कम्पनीले अन्तिम भुक्तानी योजनाअन्तर्गत १५ वर्ष अवधिका लागि रू. ४५, १६ देखि २० वर्ष अवधिको लागि रू. ५५ र २१ वा सोभन्दा बढी अवधिको लागि रू. ६५ बोनस निर्धारण गरेको छ । अग्रिम भुक्तानी योजनाअन्तर्गत १५ वर्ष अवधिको बीमा लेख १३ हजार २८९, १६ देखि २० वर्ष अवधिको बीमा लेख ४ हजार ४७६ र २१ व सोभन्दा माथिको बीमा लेख ५ हजार २३० ओटा जारी भएको छ ।
कम्पनीले हाल कायम गरिएको बोनसदर मृत्यु दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी, आवधिक भुक्तानी दाबी र चालु बीमा लेखहरूमा लागू हुने जानकारी दिएको छ । साथै अर्को बीमांकीय मूल्यांकनअनुसार बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृत नभएसम्म उल्लिखित दाबीहरूमा यही बोनसदर लागू हुने जानकारीसमेत कम्पनीले दिएको छ ।
प्रतिक्रिया