काठमाडौँ- बीमा अभिकर्ताको इजाजत पत्र वितरणलाई प्रभावकारी बनाउनका लागी नेपाल बीमा प्राधिकरणले सूचना प्रविधिको प्रयोगमा जोड दिई रहेका बेला नेपाल लाईफ इन्स्योरेन्सले एक कदम अघि बढेर अभिकर्ता तालिम संचालनका लागी पूर्णस्वचालित प्रणाली प्रयोगमा ल्याउने तयारी गरेको छ ।
नेपाल लाईफले बीमा अभिकर्ता सम्बन्धी तालिम लिन चाहने र अभिकर्ता पेशा अंगाल्न चाहने आकांक्षीले जुनसुकै बेला जहाँसुकैबाट पनि तालिममा सहभागीता जनाउन सक्ने सुविधा सहितको लर्निङ म्यानेजमेन्ट सिस्टम(एलएमएस (सिकाई व्यवस्थापन प्रणाली) प्रयोगमा ल्याउन लागेको हो ।
प्रस्तावित सफ्टवेयर प्रणालीमा आवेदक स्वयमले पनि आफ्नो शैक्षिक, चारित्रिक प्रमाण पत्र, नागरिकता, फोटो, स्थायी लेखा नम्बर प्रमाण पत्रलगायतको दस्तावेज प्रविष्ट गर्न सक्ने सुविधा उपलब्ध हुनेछ । यो प्रणाली प्रयोगमा ल्याएको अवस्थामा भौतिकरुपमा तालिममा सहभागीता जनाउनै पर्ने बाध्यता रहनेछैन । कम्पनीले ईच्छुक आपूर्तीकर्ता वा सफ्टवेयर कम्पनीलाई माघ ५ गते बिहीबार २०७९ (१९ जनवरी २०२३ ) सम्ममा शिलबन्दी प्रस्ताव पेश गर्न वेबसाइटमार्फत् सार्वजनिक सूचना प्रकाशन गर्दै आह्वान गरेको छ।

अभिकर्ता तालिममा सहभागीताका लागी आवेदन फारम भर्ने तर तालिममा सहभागी नहुने प्रवृत्ति बढ्दै जाँदा बीमा कम्पनीहरुलाई तालिममा सहभागीहरुको फर्जी उपस्थिति जनाउनुपर्ने बाध्यता रहेको थियो । प्राधिकरणले क्यामेरा सहितको डेस्कटप, ल्यापटप, ट्याब, मोबाइललगायतको उपकरणको माध्यमबाट परिक्षामा सहभागी भएर अभिकर्ता इजाजत पत्रका लागी परिक्षा उतीर्ण हुनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याउने तयारी अन्तिम चरणमा रहेकाले नेपाल लाईफले विकास गर्न लागेको प्रविधि अन्य बीमा कम्पनीका लागी पनि उपयोगी हुने देखिएको छ ।
कम्पनीले रुची राख्ने जोसुकैले जीवन बीमा सम्बन्धी उपयोगी जानकारी लिन, जिज्ञासा व्यक्त गर्न, अनुभव साट्न, अनलाइन परिक्षामा सहभागीता जनाउन र आफ्नो प्राप्तांकबारे जानकारी लिन सक्नेछन् । तालिममा सहभागीताका लागी निर्धारण गरिएको शुल्क समेत विभिन्न विद्युतीय भुक्तानी सेवा प्रदायकमार्फत् भुक्तानी गर्नका लागी सफ्टवेयरमै सुविधा उपलब्ध हुनुपर्ने प्राविधिक आवश्यक्ता सम्बन्धी सूचीमा उल्लेख गरेको छ।
प्रतिक्रिया