लाभांश पारित गर्न शिखर इन्स्योरेन्सले डाक्यो साधारण सभा

विहीबार, ०५ माघ २०७९, १४ : ४२

काठमाडौँ - शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न आफ्नो १७ औँ र १८ औँ वार्षिक साधारणसभा डाकेको छ। 

इन्स्योरेन्स कम्पनीले माघ २५ गते, बुधबार, आफ्नो केन्द्रिय कार्यालय, शिखर बिज सेन्टर, थापाथलीमा बिहान ११ बजे, १७ औँ तथा १८ औँ वार्षिक साधारण सभा बोलाएको हो।

कम्पनी सञ्चालक समितिको माघ ३ गते मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा को मिति स्थान र बुक क्लोज कहिले गर्ने भनि छलफल गरेको हो । 

सभाले आर्थिक वर्ष २०७८ र ७९का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी  २ अर्ब २८ करोड ६० लाख ८१ हजार २०० रुपैयाँको कुल १६.८४२१ प्रतिशतले हुन आउने ३८ करोड ५० लाख २४ हजार ८२ रुपैयाँबराबरको लाभांश अनुमोदन गर्नेछ। 

प्रस्तावित लाभांशमा १६ प्रतिशतले हुन आउने ३६ करोड ५७ लाख ७२ हजार ९९२ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.८४२१ प्रतिशतले हुन आउने १ करोड ९२ लाख ५१ हजार ९० रुपैयाँबराबरको नगद लाभांश छन्। 

बोनस सेयर वितरणपछि चुक्तापुँजी र जारीपुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभाले कम्पनीमा सञ्चालकहरुको नियुक्तिसम्बन्धी नियममा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। जसअनुसार अब संस्थापक समूहबाट ३ जना, सर्वसाधारण समूहबाट ३ जना र १ जना स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पनि स्वीकृत गर्नेछ। यसअघि संस्थापकबाट ४ जना, सर्वसाधारणबाट २ जना र १ जना स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने नियम थियो। 

अन्य कुनै बीमा कम्पनी आपसमा गाभ्ने, गाभिन वा प्राप्ति गर्ने सन्दर्भमा गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ। सभामा आर्थिक वर्ष २०७७ र ७८ र २०७८ र ७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन छलफल गरी स्वीकृत गरिनेछ। 

लाभांश र वार्षिक साधारणसभाबाट प्रयोजनार्थ कम्पनीले यही माघ १७ गतेदेखि साधारणसभा सम्पन्न नहुन्जेसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ १६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

विहीबार, ०५ माघ २०७९, १४ : ४२

प्रतिक्रिया