ग्लोबल आइएमई बैंक  र नीलकण्ठ नगरपालिकाबीच सम्झौता

शुक्रबार, ०६ माघ २०७९, १२ : ०५

 

काठमाडौ-  ग्लोबल आइएमई बैंक र धादिङको नीलकण्ठ नगरपालिकाबीच सम्झौता भएको छ ।

 उद्यमशिलता कार्यक्रमअन्तर्गत नगरबासीलाई उद्यमी तथा स्वरोजगार कर्जा लगानीमा ब्याज अनुदान उपलब्ध गराउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा नगर प्रमुख भीमप्रसाद ढुंगाना र बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकले नगरपालिकाको मेयर उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत उद्यमशिलता तथा वित्तीय साक्षरता तालिम लिएका नगरबासीलाई व्यावसायिक बाख्रा पालन, डेरी, तरकारी खेती, कुखुरा पालन, माछा पालन, विभिन्न फलफूलहरुको उत्पादनलगायत अन्य लघु उद्यम गर्न नगरपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ ।

यो समझदारीले निर्वाहका लागि मात्र कृषि व्यवसाय गरिरहेका कृषकलाई उद्यमी बनाउन पुँजीलगायत प्राविधिक सीप आर्जन गरी आफ्नो व्यवसाय विस्तार एवम् विकास गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ । उक्त अवसरमा बैंकले वित्तीय साक्षरता कार्यक्रमसमेत आयोजना गरेको थियो ।

शुक्रबार, ०६ माघ २०७९, १२ : ०५

प्रतिक्रिया