काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा 'बादल'ले शुक्रबार देशका ६ वटा प्रदेशका करिब २० जिल्लामा एनसेलका टावरमा आक्रमण गर्नेको तत्वको पहिचान भइसकेको दावी गरेका छन् ।
आइतबार संसदको राज्य व्यवस्था समितिमा बोल्दै गृहमन्त्री थापाले भने, ‘हालसम्म कसैले जिम्मेवारी लिएको त छैन् । तर अहिलेसम्म प्राप्त अनुसन्धानको रिपोर्टले राज्यविरोधी, संविधानविरोधी शक्तिले गरेको बुझिएको छ ।‘
उनले अझ स्पष्ट रुपमा नामै किटेर ‘नेकपा विप्लव समूहले गराएको’ पनि उल्लेख गरे । गृहमन्त्रीका अनुसार देशव्यापी रुपमा पार्टीको केन्द्रीय योजना अनुसार आक्रमण गरेको बुझिएको छ । ‘अहिलेसम्म अज्ञात भन्ने छ । तर सिरियल्ली हेर्दाखेरी विगतमा निर्वाचन आयुक्तकोमा बम विस्फोट गराइएको र उनीहरुको भर्खर बसेको बैठकले गरेको निर्णय तथा राज्यलाई प्राप्त डकुमेन्टबाट सत्ता उल्टाउनका लागि लागिपरेको यही समूह भन्ने छ’, उनले भने ।
घटनामा संलग्न रहेको आशंकामा देशभरबाट १६ जनालाई पक्राउ गरिएको जानकारी उनले दिए ।
प्रतिक्रिया