काङ्ग्रेसद्वारा पार्टीको विधान परिमार्जनसहित पारित

आइतबार, १२ फागुन २०७५, २२ : १७

काठमाडौँ–नेपाली काङ्ग्रेसले पार्टीको विधान संशोधनको प्रस्तावलाई परिमार्जनसहित पारित गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले पार्टीको महासमितिको बैठकमा प्रस्तुत विधान संशोधनको प्रस्ताव परिमार्जनसहित पारित गर्ने निर्णय गरेको हो । 

बैठकले महासमितिको बैठकमा उपसभापति विमलेन्द्र निधिद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, महामन्त्रीद्वय डा शशांक कोइराला र पूर्णबहादुर खड्काद्वारा प्रस्तुत महामन्त्रीको प्रतिवेदन, कोषाध्यक्ष सीतादेवी यादवद्वारा प्रस्तुत कोषाध्यक्षको आर्थिक प्रतिवेदन र सहमहामन्त्री डा प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक नीति प्रस्ताव पनि परिमार्जनसहित पारित गरेको छ । 
तर, पारित विधानप्रति वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितको संस्थापन इतरपक्षले निर्णय प्रकृयाप्रति लिखित असहमति जनाएका छन् ।

विधान पारित भएसँगै अब केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरू चुनाव नै नलडी सिधै महाधिवेशन प्रतिनिधि बन्ने भएका छन् । पार्टीका पूर्वपदाधिकारी तथा सदस्यहरू, जिल्ला सभापति, क्षेत्रीय सभापति, संघीय संसदका सदस्य तथा उम्मेदवार, प्रदेशसभाका सांसद र सांसदका उम्मेदवार स्वतः क्षेत्रीय प्रतिनिधि हुन पाउने छन् । यो व्यवस्था हटाएको भए पार्टीका केन्द्रीय पदाधिकारीदेखि सबै नेता तथा कार्यकर्ता सिधै वडा तहमा क्षेत्रीय प्रतिनिधिबाटै चुनाव लड्नु पर्ने हुन्थ्यो । सोही व्यवस्था कायम गरिनुपर्ने असन्तुष्ट समूहको माग रहँदै आएको थियो । 

लिखित असहमति राख्नेमा बैठकमा वरिष्ठ नेता पौडेल, कोषाध्यक्ष सितादेवी यादव, पूर्वमहामन्त्री सिटौला, केन्द्रीय सदस्यहरु रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडु, चन्द्र भण्डारी, नविन्द्रराज जोशी, धनराज गुरुङ, गगन थापा, प्रदीप पौडेल, रामकृष्ण यादव, सिरिता प्रसाईंलगायत छन् ।

आइतबार, १२ फागुन २०७५, २२ : १७

प्रतिक्रिया