काठमाडौं-भ्रष्टाचार मुद्दामा निलम्बित सांसद हरिनारायणप्रसाद रौनियार १ करोड ७५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् । विशेष अदालतले मागेको धरौटी बैंक ग्यारेन्टीमार्फत तिरेर उनी रिहा भएका हुन् । आइतबार छोरा सुमितसहित उनी विशेष अदालतमा उपस्थित भएका थिए । छोरा सुमितसँग पनि १ करोड ७५ लाख रुपैयाँ धरौटी माग भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए ।
गत १९ असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौनियार र उनका छोरा सुमितविरुद्ध जनही १९ करोड ३२ लाख २५ हजार ६९५ रुपैयाँ बिगोदाबीसहित मुद्दा दायर गरेको थियो । पप्पु कन्स्ट्रक्सनका मालिकका रूपमा रौनियारविरुद्ध मुद्दा दायर भएको हो । बबई नदीमा निर्माण भएको पुलमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो । निर्माण भएको केही महिनामा नै पुल भत्किएको थियो ।
पप्पु कन्स्ट्रक्सन हाल छोरा सुमितको नाममा छ । पप्पुले नै रौतहटको गौरमा पुल निर्माणमा ढिलाइ गर्दा डुंगामार्फत खोला तर्न बाध्य स्थानीय केही समयअघि दुर्घटनामा परेका थिए । ९ भदौमा भएको डुंगा दुर्घटनामा पाँचजनाको मृत्यु भएको थियो । नयाँ पत्रिकाले खबर छापेकाे छ ।
प्रतिक्रिया