काठमाडौं-काठमाडौं उपत्यकामा वार्षिक तीन लाख टन फोहोर उत्पादन हुन्छ । फोहोर फालिँदै आएको नुवाकोटको सिसडोल भरिइसकेको छ । वर्षा लागेपछि त्यहाँ फोहोर फाल्न सकिने अवस्था छैन, तर त्यसको विकल्प अझै तयार भइसकेको छैन । सरकारले नुवाकोटको ककनी–२ र धादिङको धुनिबेसी–१ को बीचमा पर्ने बन्चरेडाँडालाई दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइट बनाउने निर्णय ०५१ मै गरेको थियो । तर, २४ वर्ष बितिसक्दा पनि त्यहाँ आवश्यक पूर्वाधार निर्माण भएको छैन ।
बन्चरेडाँडा ल्यान्डफिलसाइटको अवधारणात्मक प्रारूप (कन्सेप्चुअल डिजाइन) आर्थिक वर्ष ०५८÷५९ मै बनेको थियो । जापान सहयोग नियोग (जाइका)ले बनाएको प्रारूपअनुसार ल्यान्डफिलसाइट निर्माण गर्न एक अर्ब ८६ करोड लाग्ने अनुमान गरिएको थियो । तर, समयमा आयोजना नबन्दा ०७१ को डिपिआरअनुसार साइट निर्माणको लागत दुई अर्ब ४० करोड पुगिसकेको छ । नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ ।
प्रतिक्रिया