अप्रिल १ देखि ‘एफआइटी’ बन्द / पदयात्रामा जादाँ अनिवार्य गाइड राख्नुपर्ने

शनिबार, २० फागुन २०७९, १६ : ३३

 काठमाडौँ - नेपाल पर्यटन बोर्डले १ अप्रिल २०२३ देखि लागू हुनेगरी ‘फ्रि इन्डिभ्युजुअल ट्रेकर (एफआईटी) बन्द गर्ने भएको छ । यो व्यवस्था लागू भएसँगै नेपालमा विदेशी पर्यटकले अनिवार्य रुपमा ट्रेकिङ कम्पनीमार्फत गाइड लिएर मात्र पदयात्रामा निस्कनुपर्ने भएको छ । 

 बोर्डले नेपाल पर्यटन ऐन २०५३ को दफा ७ र पदयात्री सूचना व्यवस्थापन प्रणाली, संचालन  (पहिलो संशोध) निर्देशिका, २०६६ को दफा १० ‘क’ बमोजिम यो निर्णय गरेको हो । नेपालको साहसिक गन्तव्यमा गरिने पदयात्रामा पर्यटकको सुरक्षाको ग्यारेन्टीका लागि यो निर्णय गरिएको पर्यटन बोर्डले जानकारी दिएको छ । यसरी जाने पर्यटक तथा गाइड दुवैको बीमा समेत गरिनेछ । नेपाल पर्यटन बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली कार्ड बिक्रीको अनुमति पाएका निकायबाट टिम्स कार्ड लिएर एक्लै भ्रमणमा जाँदा पदयात्राका क्रममा पर्यटक हराउने, असुरक्षित हुने जस्ता समस्या आउने गरेको थियो । 

 यस विषयमा नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले समेत चासो दिएको र बोर्ड सञ्चालक समिति तथा ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल ९टान० र पर्यटन श्रमिक ट्रेकिङ युनियनका प्रतिनिधीबीच भएको छलफलमा पर्यटकको सुरक्षा,उद्धार र व्यवस्थापनलाई ध्यानमा राख्दै  (एफआईटी)’ बन्द गर्ने निर्णय गरिएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले जानकारी दिए । 

‘यस विषयमा पहिले देखि नै कुरा उठेको र नेपाललाई हरतरहले सुरक्षित पर्यटकीय गन्तव्य बनाउन पर्छ भन्ने नै थियो । विभागीय मन्त्रीको चासो, निर्देशन तथा सरोकारवालाहरुको सहमतिमा गन्तव्यलाई सुरक्षित, उद्दारमा सहज र व्यवस्थापनलाई चुस्त बनाउन यस्तो निर्णय गरिएको छ । यसले समग्रमा राम्रो सन्देश प्रभाव गर्ने छ’ उनले भने । 

डा। रेग्मीले यो निर्णयसँगै नेपालमा ट्रेकिङ गार्डडहरूको रोजगारी साथै आय समेत बढ्ने बताए । पर्यटन बोर्डको तथ्याङ्क अनुसार नेपालमा ट्रेकिङ्ग गर्न आउने कूल पर्यटक मध्ये ३० प्रतिशत एफआइटीवाला रहेको र उनीहरूबाट हुने कुल आय ४७ प्रतिशतको हाराहारीमा थियो ।  

नेपालमा कोभिड–१९ भन्दा अगाडि वार्षिक ४६ हजार हाहारारी पर्यटक एफआईटीका रुपमा आउने गरेको बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए । बोर्डले एफआईटीका लागि जारी हुने टिम्स कार्ड बन्द गरेसँगै अब सबै पर्यटकलाई एकै प्रकारको टिम्स कार्ड वितरण गर्ने समेत उनले बताए । 

यसअघि समूहमा भ्रमणमा जानेले प्रतिव्यक्ति १ हजार रुपैयाँ र एकल भ्रमणमा जानेले प्रतिव्यक्ति २ हजार रुपैयाँ तिरेर टिम्स कार्ड पाउने गरेकामा अब भने सबैखाले पर्यटकका लागि टिम्स कार्डको मूल्य प्रतिव्यक्ति २ हजार रुपैयाँ लाग्ने छ । 

सार्क देशका नागरिकको हकमा यसअघि २ सय रुपैयाँ लाग्ने गरेकोमा अब भने १ हजार रुपैयाँ लाग्ने निर्देशक लामिछानेले बताए । यस विषयमा नेपाल ट्रेकिङ, ट्राभल्स राफ्टिङ,एअरलाइन्स श्रमिक  युनियन लगायतका संस्थाले लामो समयदेखि आवाज उठाउदै आएका थिए ।

बोर्डको यो निर्णय स्वागतयोग्य भएको र यसको सहि कार्यन्वयन हुनुपर्ने युनिट्राभका अध्यक्ष सुमन प्रसाद पराजुलीले बताए । अध्यक्ष पराजुलीले यो निर्णय कार्यान्वयन हुँदा नेपालको पर्वतिय पर्यटनको सुरक्षा चासो समेत सम्बोधन हुने बताए ।

 

शनिबार, २० फागुन २०७९, १६ : ३३

प्रतिक्रिया