कोशि प्रदेशको तेस्रो अधिवेशन आव्हान

सोमबार, ११ असार २०८०, १३ : ३१

काठमाडौँ- अल्पमतमा परेपछि अध्यादेशबाट बजेट ल्याउन कै लागि अधिवेशन स्थगित गरेको प्रदेश सरकारले तेस्रो अधिवेशन आव्हान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।

 कोशी प्रदेशसभाको बजेट अधिवेशन चलिरहेका बेला आफू अल्पमतमा परेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जेठ ३१ गते अधिवेशन अन्त्यको निर्णय गरेका थिए । प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले असार १४ गते दिउँसो १ बजेका लागि बैठक आव्हान गर्न प्रदेश प्रमुख पर्शुराम खापुङलाई सरकारले सिफारिस गरेको बताए । 


आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको तेस्रो अधिवेशन आव्हान गर्न बैठक आव्हान गर्ने निर्णय गरेको हो । सोही अधिवेशनमा विश्वासको मत लिने मुख्यमन्त्री कार्कीको तयारी छ । सरकारमा सहभागी नेकपा ९माओवादी केन्द्र० र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ । सरकारमा सहभागी दलले सरकारबाट बाहिरिएमा वा समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

प्रदेशसभाले जेठ १९ गते जसपाले समर्थन फिर्ता लिएको औपचारिक जानकारी गराएको रेकर्ड कायम गरेको छ । सोही अनुसार कार्कीले असार १७ गतेसम्ममा विश्वासको मत लिइसक्नुपर्नेछ ।

कार्की नेतृत्वको सरकारलाई हाल एमालेको ४० र राप्रपाका ६ सांसदसहित ४६ सांसदको समर्थन छ । बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । ९३ जना प्रदेशसभा सदस्यहरुमध्ये नेपाली कांग्रेसका २९, नेकपा माओवादीको १३, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादीको १ सांसद छन् । काँग्रेससहितको गठबन्धनले कार्की नेतृत्वको सरकार ढलेसँगै अर्को सरकार गठनको पहल गरिरहेका छन् ।

सोमबार, ११ असार २०८०, १३ : ३१

प्रतिक्रिया