पूर्व माओवादीहरुबीच एकता हुने प्रचण्डको उद्घोष

शनिबार, १६ असार २०८०, १२ : ४६

काठमाडौँ – शान्ति प्रक्रियापछि विभिन्न समूहमा विभाजित माअ‍ोवादीहरुबीच एकताको संभावना बढेको छ । समाजवादी मोर्चाको निर्माणसँगै माओवादी घटकहरुबीच एकता सम्बन्धी छलफल सुरु भएको बताइन्छ । यसलाई पुष्टि गर्नेगरी प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्रं) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिहरूबीच एकताको ठोस पहल भइरहेको बताएका छन्।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले पार्टी कमजोर हुँदा अहिलेसम्मका परिवर्तन नै कमजोर हुने महशुस गर्दै पूर्वमाओवादीहरूबीचको एकताबारेको छलफललाई बृहत् पारिएको बताए।

‘हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ। त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो। त्यसका लागि हामी सबैले देशको पक्षमा सोच्न र काम गर्न जरूरी छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

माओवादीले नै मुलुकको परिवर्तनको लागि योगदान गरेको स्मरण गर्दै उनले भने – पार्टीलाई राम्रो बनाउन नयाँ ढंगले सोचिएको छ, ‘हामीसँग इतिहासको तागत छ, त्याग र बलिदानको तागत छ। जनताले हामीमाथि राखेको आशा र भरोसाको तागत पनि छ, त्यसलाई देश निर्माणका पक्षमा लगाउनुपर्छ,।’

प्रधानमन्त्री प्रचण्डले सामन्तवाद र प्रतिक्रियावादले फोहोरको डङ्गुर थुपारेको र त्यसलाई सफा नगरी देश नबन्ने बताए। ‘देश निर्माणका लागि फेरि नयाँ फड्को जरूरी छ। सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा फड्को हान्न खोजिएको छ। यसमा हामी दृढतापूर्वक अघि बढ्नुपर्छ। सरकार यसमा दृढ छ,’ उनले भने।

शनिबार, १६ असार २०८०, १२ : ४६

प्रतिक्रिया