आज रङहरुको पर्व होली, जबरजस्ती रङ छ्याप्ने होसियार !

बुधबार, ०६ चैत्र २०७५, १४ : ००

काठमाडौँ – रङहरुको पर्व फागुपूर्णिमा अर्थात होली आज भव्यताका साथ मनाइँदै छ । प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइने गरिन्छ । पहाडी भेगमा आज मनाइने यो पर्व तराई भेगमा भने भोलि भव्यताका साथ मनाइँदैछ ।

वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो चाड मानिसले एक अर्कामाथि विभिन्न प्रकारका रङ हालेर एकअर्कालाई रङ्गिन बनाएर मनाउँछन् ।

नेपालमा प्रचलित विभिन्न संस्कृतिमध्ये फागुपूर्णिमा आफ्नै विशिष्टता बोकेको संस्कृति भएको संस्कृतिविद्हरु बताउँछन् ।

होली खेल्ने दिनभन्दा एक दिन पहिला राति होलिका दहन गरिन्छ । राति होलिका दहन गरिसकेपछि बिहान पानीमा रङ घोलेर एकअर्कामाथि फाल्ने प्रचलन प्राचीन कालदेखि चलिआएको हो ।
ससाना बच्चादेखि वृद्धवृद्धासम्म सबैले होलीको मजा लिने गर्दछन् । होलीको दिन पुरानो कटुता समाप्त गरेर र दुस्मनी बिर्सेर एकआपसमा खुसी साट्ने दिनका रुपमा मनाइन्छ ।

फागुपूर्णिमाका अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढका हुल तथा जत्था हातमा रङ र रङ्गिन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै उत्साह र उमङ्गका साथ रङ्गीन पर्वका रूपमा मनाउने गरिन्छ ।

यसरी सुरु भयो होली
सत्ययुगमा भगवान् विष्णुका भक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपुले विभिन्न जाल बुन्दा पनि मार्न नसकेपछि हिरण्यकश्यपुले आगोबाट नजल्ने, नमर्ने बरदान पाएकी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा भक्त प्रह्लादलाई केही नभएको तर होलिका जलेर नष्ट भई असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा यो पर्व मनाइने गरिएको विश्वास रहिआएको छ । 

रङको महत्व
होलीमा प्रयोग गरिने रङको आ–आफ्नै महत्व रहेको पाइन्छ । नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ भने पहेँलो रङ भगवान् विष्णु र श्रीकृष्णको प्रिय रङ हो । भगवान् गणेशलाई सबै रङ मनपर्ने तथा रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ ।
होलीको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरुले शुभकामना दिएका छन् । 
यस्तै होलीको अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ । 

सुरक्षा व्यवस्था कडा
यसैबीच प्रहरीले होलीमा अप्रिय घटना हुन नदिन विशेष सतर्कता अपनाइएको जनाएको छ । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै आइतबार ठूलो संख्यामा प्रहरी परिचालन गरिएको भने करीब ४ सय स्थानमा सुरक्षा जाँच हुने काठमाडौं प्रहरी प्रमुख एसएसपी छबिलाल जोशीले जानकारी दिए । 

सुरक्षा जाँचमा प्रहरीका साथै ट्राफिक प्रहरी खटिनेछन् भने होलीका नाममा हुने उच्छृंखल गतिविधि रोक्न सादा पोशाकका प्रहरी पनि खटिनेछन् । महानगरीय प्रहरी परिसरले होलीलाई व्यवस्थित गर्न आफूहरु लागिपरेको र उच्छृंखल गतिविधि गर्नेलाई पक्राउ गरेर कारबाही गरिने बताएको छ । 
यस्तै आज ठाउँठाउँमा दिउँसै मापसे चेकिङ हुने ट्राफिक प्रहरीले जनाएको छ । 


उच्छृंखल गतिविधि गर्नेलाई कस्तो कारबाही ?
होलीमा जबरजस्ती रङ छ्याप्ने, लोला हान्ने र अबिर दल्नेलाई पक्राउ गरेर सार्वजनिक मुद्दा चलाउने प्रहरीले जनाएको छ । 
सार्वजनिक अपराध मुद्दामा एक वर्ष कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुन्छ । 

बुधबार, ०६ चैत्र २०७५, १४ : ००

प्रतिक्रिया