काठमाडौं- विगतका वर्षको तुलनामा विदेशी पर्यटकको आगमन बढे पनि पर्यटकको नेपाल बसाइ र औसत खर्च भने घटेको छ ।
पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले पछिल्लो समय भारतीय पर्यटकको सङ्ख्या बढ्दै गएको र पर्यटकले नगद कारोबार गर्दा सरकारी तथ्याङ्कमा औसत खर्च भने घटेको देखिएको बताउनुभयो ।
“एकातिर महामारीपछि नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको देखिएको छ । अर्कोतर्फ पर्यटकको बसाइ र उनीहरूले गर्ने खर्चमा कम देखिनुमा होटल, यातायात क्षेत्रमा नगदै कारोबार भएका कारण हुन सक्छ,” उहाँले भन्नुभयो। महामारीअघि नेपालमा पर्यटकले दैनिक ४८ र महामारीको समयमा ६० डलर खर्च गर्ने गरेको भए पनि अहिलेको तथ्याङ्कले ४०.५ पाँच डलर दैनिक खर्च गरेको देखाउनुमा नगद भुक्तानीको सङ्ख्या बढेको हुन सक्ने लामिछानेले बताउनुभयो।
भारतीय नागरिकलाई २५ हजार भारुभन्दा बढी नगद बोक्न नदिने नेपाल राष्ट्र बैङ्कको नीतिका कारण पनि भारतीय पर्यटकले बसाइ लम्ब्याउन अनलाइन भुक्तानी गर्ने गरेको र उक्त नीतिकै कारण पर्यटकको बसाइ लम्ब्याउन समेत समस्या देखिएको उहाँले जनाउनुभयो । पर्यटकले गर्ने खर्चलाई बढाउन ट्रेकिङमा जाने विदेशी पदयात्रीलाई अनलाइनबाट भुक्तानीको प्रक्रियामा ल्याए सरकारलाई राजस्व बढ्ने र आम्दानीको सीमासमेत बढ्ने देखिने उहाँले बताउनुभयो ।
बोर्डको पछिल्लो विवरण अनुसार नेपालमा पर्यटकले प्रतिदिन गर्ने खर्च ४०.५ अमेरिकी डलर र बसाइ १३.१ दिनमा खुम्चिएको छ । यसअघि सन् २०२१ मा पर्यटकले नेपालमा प्रतिदिन ४८ अमेरिकी डलर र औसत बसाइ १५.५ दिनसम्म हुने गरेको थियो । यस्तो खर्च कोभिड महामारीका कारण अनिवार्य क्वारेन्टाइनको नियमका कारण सन् २०२० मा ६५ अमेरिकी डलरसम्म पुगेको उहाँले बताउनुभयो । सन् २०१५ मा पर्यटकको औसत बसाइ १३.१६ दिन, सन् २०१६ मा १३.४, सन् २०१७ मा १२.६, सन् २०१८ मा १२.४ र सन् २०१९ मा १२.४ दिन रहेको थियो ।
नेपालमा पर्यटकले गर्ने औसत खर्च घट्दा त्यसले पर्यटनसँग सम्बन्धित व्यवसायीलाई भने चिन्तित बनाएको छ । पर्यटन बोर्डका अनुसार सन् २०२३ को छ महिनाको अवधिमा कुल पर्यटक आगमन चार लाख ७६ हजार ५०६ जना पुगेको छ । यस अनुसार नेपालमा प्रतिमहिना ७९ हजार ४१३ जना पर्यटक नेपाल आएका छन् ।
प्रतिक्रिया