जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढी जोखिम

शनिबार, ०३ जेठ २०८२, १६ : ०६

काठमाडौं- सरोकारवालाहरुले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढी जोखिम रहेको बताएका छन् । 

शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको आज दोस्रो दिनअन्तर्गत हिमाली क्षेत्रको जोखिम र मूल्यांकन विषयक समानान्तर सत्रमा जलवायु परिवर्तनको असर न्यूनीकरण उपाय अवलम्बन नगरेमा हिमाली क्षेत्रमा बसोबास गर्ने मानिस अझै बढी जोखिममा रहने बताएका हुन् ।

चिनियाँ विज्ञान प्रतिष्ठान चीनका निर्देशक डा टाओ वाङले विश्वव्यापी रुपमा बढिरहेको तापमानका कारण हिमाली क्षेत्र बढी प्रभावमा परेको बताए । ज्युरिक विश्वविद्यालय, स्वीट्जरल्याण्डका वरिष्ठ अनुसन्धान सहयोगी डा साइमन एलनले जलवायु परिवर्तनको असरसँग जुध्नका लागि स्थानीयस्तरको क्षमता अभिवृद्धिमा जोड दिए । बिजिजी इञ्जिनियरिङ इन्क क्यानडाका वरिष्ठ भू–वैज्ञानिक इञ्जिनियर एमिली मार्कले जलवायु परिवर्तनको असरका कारण वातावरणीय प्रणाली र विकासलाई असर पुग्ने बताए । 

केइयो विश्वविद्यालयका जापानका प्रोफेसर राजीव शाँले विश्वभरका चुनौतीलाई सम्बोधन गर्न स्थानीयस्तरदेखि वैश्विकस्तरसम्मको सहकार्य र विविधताको आवश्यकता जोड दिए । भू–विज्ञान अनुसन्धान केन्द्र जर्मनका प्रमुख डा निल्स होभियसले जलवायु अनुकूलनका लागि प्राकृतिक प्रकोपहरुको पूर्वानुमान प्रणालीहरुको विकास, जलवायु परिवर्तनका प्रभावको अनुगमन र वातावरणीय दिगोपनका उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिए । पहाड तथा हिमाली क्षेत्रहरु पृथ्वीका सबैभन्दा गतिशील र नाजुक प्रणालीहरुमध्ये पर्ने र यी क्षेत्रहरु पहिरो, बाढी, हिमताल विस्फोट, हिउँपहिरोजस्ता शृंखलाबद्ध प्रकोपहरुको जोखिममा झनै संवेदनशील बन्दै गएको उनीहरुको जोड रहेको छ । जलवायु परिवर्तनले यस्ता जोखिमलाई थप तीव्र बनाउने, जसले पूर्वाधार हिमाली समुदायको जीवन र जीविकोपार्जन र तल्लो क्षेत्रमा बसोबास गर्ने अर्बौं मानिसलाई जोखिममा पार्नसक्ने भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन् । 

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानलको छैटौं मूल्यांकन प्रतिवेदन (२०२३) अनुसार, पृथ्वीको तापक्रम २ डिग्री सेल्सियसले वृद्धि भएमा प्रायः सबै पहाडी क्षेत्रमा कम्तीमा पनि मध्यमस्तरको जोखिम आउनेछ भने केही क्षेत्रमा अझ उच्च जोखिम देखिनेछ । 

भविष्यमा देखिएका यस्ता जोखिम र जलचक्रमा हुने परिवर्तनले दिगो विकासका लागि पहाडी जोखिम मूल्यांकन तथा अनुगमन अत्यावश्यक भएको प्रतिवेदनको सुझाव छ । सत्रको सहजीकरण इञ्जिनियरिङ अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय प्राध्यापक डा विष्णुप्रसाद पाण्डेले गरेका थिए । -रासस

शनिबार, ०३ जेठ २०८२, १६ : ०६

प्रतिक्रिया