काठमाडौं - कैलालीको गेटा मेडिकल कलेजलाई एक सय शय्याको अस्पतालका रूपमा सञ्चालनको तयारी थालिएको छ ।
यसका लागि सरकारले चालु आवमा आवश्यक बजेट व्यवस्था गरेको छ । साउन मसान्तबाट अस्पताल सञ्चालन गर्ने तयारी भइरहेको छ । यसका लागि आवश्यक तयारी थालिएको गेटा मेडिकल कलेजका निर्देशक डा.प्रमोद जोशीले बताउनुभयो। “तत्कालका लागि एक सय शय्याको अस्पताल सञ्चालन गर्न निर्देशनसहितको जानकारी आएको छ,” उहाँले भन्नुभयो, “त्यसैका लागि अहिले तयारी भइरहेको छ ।”
उहाँले न्यूनतम सेवासहितको अस्पताल सञ्चालनका लागि आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो । अस्पताल सञ्चालन गर्न १४० जनाको अस्थायी दरबन्दी पनि स्वीकृत गरिएको छ। सरकारले केही महिनाअगाडि गेटा मेडिकल कलेजलाई सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो तर चालु आर्थिक वर्षको बजेटमा एक सय शय्याको अस्पताल बनाउने कार्यक्रम राखिएको छ ।
विश्वविद्यालय बनाउने निर्णय गरेको सरकारले एक सय शय्याको अस्पताल सञ्चालन गर्ने कार्यक्रम राखेपछि नागरिकस्तरबाट आन्दोलनसमेत गरिएको थियो। स्वास्थ्य सेवामा सुदूरपश्चिम प्रदेशवासीको सहज पहुँच पु¥याउने र दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ नेपाल सरकारले २०७३ सालबाट मेडिकल कलेजका लागि पूर्वाधार निर्माण अगाडि बढाएको थियो।
हालसम्म पाँच अर्ब ९९ करोड रुपियाँ खर्चेर विभिन्न संरचना तयार पारिएको छ । मेडिकल कलेजलाई आवश्यक पर्ने कलेज, अस्पताल, प्रशासनिक भवन, चिकित्सक आवास, छात्रवासलगायत २९ वटा भवन निर्माण गरिएको छ । यसैबिच मेडिकल कलेजको पूर्वाधार निर्माण अगाडि बढाउन र रेखदेख गर्नका लागि बनाइएको मेडिकल कलेज पूर्वाधार निर्माण समितिलाई सरकारले खारेज गरेको छ । आजको गोरखापत्रमा समचार छ ।
प्रतिक्रिया