संकटमा गुज्रिएका छन् जीवन बीमा कम्पनी, २४ प्रतिशतले घट्यो प्रथम बीमा शुल्क

मंगलबार, ०९ साउन २०८०, ०९ : १७

काठमाडौ- देशमा उत्पन्न आर्थिक संकटको प्रत्यक्ष असर जीवन बीमा कम्पनीहरुमा  देखिएको छ ।

 बीमा प्राधिकरणले सार्वजनिक गरेको  प्रारम्भिक विवरण अनुसार १५ वटा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्कको अवस्थाले जीवन बीमा क्षेत्रमा चिन्ताजनक अवस्थाको चित्र औल्याएको छ । बीमा प्राधिकरणले अभिकर्तामाथि गरेका अन्याय, हतोत्साहतपूर्वक व्यवहार, प्राधिकरणमा दक्ष जनशक्ति नहुँदा महिनैपिच्छे आउने निर्देशिकाहरुको अन्योल तथा देशमा उत्पन्न आर्थिक संकटका कारण जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय अप्ठेरोमा पुगेको देखिएको हो ।

गत असारसम्ममा जीवन बीमा कम्पनीहरुको कुल प्रथम बीमा शुल्क आर्जन २४ प्रतिशतले घटेर ३१ अर्ब २० करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७८।०७९ मा कम्पनीहरुले ४१ अर्ब ४४ करोड रुपैयाँको प्रथम बीमाशुल्क आर्जन गरेको थियो ।

यस अवधिसम्ममा सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थाको प्रथम बीमाशुल्क आर्जन आव २०७८।०७९ को तुलनामा १ प्रतिशतले घटेको छ । संस्थानले समिक्षा अवधिसम्ममा ९५ करोड रुपैयाँको नयाँ व्यवसाय गरेको छ । यद्यपि व्यवसाय नै नगरी बसेको संस्थानको बीमा शुल्क नगन्य मात्रामा घटेको देखिएको छ । दोस्रो नम्बरमा सन नेपाल लाइफ इन्स्योेरेन्स रहेको छ । कम्पनीको प्रथम बीमा शुल्क आव २०७८-०७९ को तुलनामा ७ प्रतिशतले मात्रै घटेको छ । कम्पनीले गत आवमा १ अर्ब ७४ करोड रुपैयाँको प्रथम व्यवसाय गरेको छ ।

तेस्रो नम्बरमा रहेको आइएमई लाइफको २०७८।०७९ को तुलनामा मा प्रथम बीमा व्यवसाय ७ प्रतिशतले घटेर १ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, यस अवधिसम्ममा नेपाल लाइफको १० प्रतिशत, मेट लाइफको १४ प्रतिशत, नेशनल लाइफको १७ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेशन र सानिमा रिलायन्स लाइफको २३ प्रतिशत, एशियन लाइफको २८ प्रतिशत, सूर्यज्योति लाइफको २९ प्रतिशतले अघिल्लो आव २०७८।०७९ को तुलनामा प्रथम व्यवसाय घटेको छ । त्यस्तै, समिक्षा अवधिसम्ममा सिटिजन लाइफको ३१ प्रतिशत, रिलायबल नेपाल लाइफको ३७ प्रतिशत, हिमालयन लाइफको ४८ प्रतिशत र प्रभु महालक्ष्मी लाइफको ५० प्रतिशतले प्रथम बीमा व्यवसाय घटेको छ ।


नेपाल बीमा प्राधिकरणबाट प्रारम्भिक रुपमा प्राप्त आव २०७९-०८० को तथ्याङ्क र अघिल्लो आव २०७८-०७९ को तथ्याङ्क विश्लेषण गर्दा असार मसान्तसम्ममा कुनै पनि जीवन वीमा कम्पनीहरुले नयाँ बीमा व्यवसाय बृद्धि गर्न सकेका छैनन् । १४ जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क २४।७२ प्रतिशतले घटेको छ । अघिल्लो आवको तुलनामा प्रथम बीमा शुल्क उच्च अंकले घटे पनि कूल रकमको आधारमा नेपाल लाइफ सबैभन्दा अगाडि रहेको छ । नेपाल लाइफले छ अर्ब ५७ करोड ११ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, नेशनल लाइफले तीन अर्ब ८७ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, तेस्रो नम्वरमा सूर्यज्योति लाइफ रहेको छ । सो कम्पनीले दुई अर्ब ७२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले दुई अर्ब २९ करोड रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गर्दा सिटिजन लाइफले एक अर्ब ९२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गरेको छ । अघिल्लो आवमा कूल चार अर्ब १४ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन भएकोमा गत आवमा तीन अर्ब १२ करोड रुपैयाँ मात्रै प्रथम बीमा शुल्क आर्जन भएको छ ।

मंगलबार, ०९ साउन २०८०, ०९ : १७

प्रतिक्रिया