मुक्ति खोज्न आन्दोलित मिटरव्याजीको सडक देखि सदनसम्म कस्टकर यात्रा

८ महिना अगाडि

काठमाडौं- सामान्यतया मिटर ब्याज भन्नाले छोटो म्यादमा धेरै ब्याज उपलब्ध गराउने प्रकृया मात्रै भनेर बुझिन्छ, तर यसको परिभाषा भने यतिले पुग्नेवाला छैन पछिल्लो केहीँ वर्ष यता मधेश लगायतका केहीँ जिल्लाका नागरिकका लागि मिटरव्याज मृत्युभन्दा कठोर र असह्य भएको छ । मिटरव्याजको पीडाले दिनानुदिन मरेतुल्य बनाएको छ । यसलाई पछिल्लो समय चक्रिएको मिटरव्याजको आनदोलनको तितो यर्थाथबाट हेरौं ।

pidit koiri  माथीको तस्विरमा देखिएका प्रेमनारायण कोइरी हुन । नवलपरासी जितपुरका प्रेमनारायण कोइरी ७७ वर्षका भए।  उमेरले बुढ्यौली लागेका उनी न राम्ररी हेर्न सक्छन् न हिँड्न नै । चाउरिएका गाला । सेताम्मे फूलेका  कपाल–दाह्री । कलर मक्किएर सेतोबाट बेरङ्गको बनेको उनको कुर्तासँग उस्तै मक्किएको धोती बेरेका छन् । आफूलाई डाडाँमाथिको घाम सम्झने प्रेमनारायण साहुको ऋणको पासोबाट मुक्ति पाउने झिनो आशा बोकेर काठमाडौंसम्म आउने साहस गरे।
उनको साहस बढेर जाने हो वा झन् कमजोर, उनी आफैंलाई थाहा छैन । तर पनि उनी माइतीघर–गौशाला शान्तिवाटिका गरिरहेका छन्। घरमा बसेर आराम गर्नुपर्ने समयमा काठमाडौं आएर केहीँ महिना अगाडिको चिसोसँगै अहिले चर्किलो घामको ताप खेपिरहेका छन्।

मिटर ब्याजीको पासोबाट मुक्ति दिलाइदिन सरकारसँग गुहार माग्न कहिले पैदल कहिले चिसो जाडो र कहिले रापताप सहितको गर्मी छेल्दै कुप्रिएको शरीर, चरचर चर्किएका पैतला र प्याक प्याक सुकेर खोटो बसेका ओठ लिएर हजारौको सङ्ख्यामा काठमाडौं आएकाहरु मध्यको एक हुन् प्रेमनारायण कोइरी । उनी आफूजस्तै न्याय माग्न विभिन्न जिल्लाबाट काठमाडौं आएकाहरुसँग माइतीघर पुगेर साँझ शान्तिवाटिकाको टहरोमा फर्किन्छन् । दायाँ खुट्टा प्यारालाइज भएर राम्रोसँग हिँड्न सक्दैनन् उनी । टहरामा थचक्क बसेर कुर्ताको खल्तीबाट सानो डायरी र मोबाइल झिकेर नम्बर डायल गरिरहेका प्रेमनारायण खै कसलाई डायल गरे पटकपटकको प्रयासमा समेत फोन नउठेपछि निराश देखिए ।

आफ्नाहरु कति छन् भन्ने हाम्रो प्रश्न पुरै सुन्न नपाउदै प्रेमनारायणले नयन आशुँले भिसाई सकेका थिए , कापिरहेको आवाजमा भावुक हुदै मुस्किलले बोले उनी, मेरो त आफ्नो भन्ने कोही छैन। साहुँका कारण न घर रह्यो न त जग्गा नै । ऋण लागे पनि दिन नलागोस् भन्थे, मलाई त दुवै लाग्यो,’ बचेको त्यहीँ घरबार बचाइ माग्न काठमाडौं आएँको हु ।’ २०७३ सालमा गाउँकै साहु बसन्त कोहारबाट घर बनाउन प्रेमनारायणले ९ लाख रुपैयाँ ऋण लिएका थिए । त्यसबापत जमिन बन्धक राखेका थिए, साहुले पैसा दिनुपर्ने भन्दै धाकधम्की दिन थालेपछि उनले दुई कट्ठा जग्गा बेचेर ऋण तिरे । पाँच वर्षपछि ०७७ सालमा उनले ९ लाख साँवा र त्यसको ब्याज सबै तिरेको बताउँछन् ।

प्रेमनारायणले साहुँले भनेजति पैसा तिर्दै गए । तर साहुले पैसा पुगेन भनिरहे । पैसा बाँकी रहेको र चुक्ता नगरुन्जेलसम्म १२ कठ्ठा जग्गा र घर फुकुवा नगर्ने डर देखाइरहे । नौ लाख ऋण लिएकामा उनले पाँच वर्षको अवधिमा १६ लाख रुपैयाँ तिरे । तर साहुले तैंले पैसा तिरेको प्रमाण के छ भन्दै अझै सावाँ र ब्याज गरी ४२ लाख रुपैयाँ तिर्नुपर्ने जिकिर गर्छ । नौ लाखको साँवा र ब्याज गरी पाँच वर्षभित्रमा १६ लाख तिरेको छु । साहुले अझै पनि ४२ लाख नदिएसम्म घर जग्गा फुकुवा गर्दिन्न भन्छ । पैसा दिँदा प्रमाण चाहिँदैन भन्यो, अहिले प्रमाण खोइ भनेर ठगिरह्यो’ उनले भने । साहुको डर धम्कीका कारण आफ्नै छोराबुहारीले समेत घृणा गर्न थाले। साहुले म मरेपछि घरजग्गा हड्पिन्छु सोचेको छ । छोराछोरीले किन ऋण काढेका थियौ, हामी कसरी तिर्ने, कहाँ जाने भन्दै बारम्बार टोकिरहन्छन्’ यति भन्दा उनका आँखाबाट आँशु झरिसकेका थिए ।


seconf

यो समस्या प्रेम नारायाणकोे मात्रै हैन देशभरका झन्दै ४० जिल्लाका १ हजार भन्दा बढि पीडितको हो । मिटरब्याजीको पीडा बोकेर पीडितहरु आन्दोन गरेको ३३ महिना कटिसकेको छ । यो आन्दोलन एकैपटक केन्द्रसम्म आएको होईन शुभारम्भमा नवलपरासी, सिराहा , सर्लाही लगायत अन्य जिल्लामा मिटरव्याजबाट पीडितहरुले आन्दोलन उठाएका थिए , तर जिल्लाले पत्रसम्म बुझ्न नमानेपछि विभिन्न निकायमा अपील बिसाए काहीँकतैबाट सुनुवाई नभएपछि उनीहरुले आफ्नो आन्दोलन केन्द्रमा केन्द्रित गर्ने योजना बनाएका हुन । निरन्तर २ वर्षसम्म जिल्लामा गुहार माग्दा समेत सरकारको ध्यानाकर्षण हुन सकेन पीडितको पक्षमा न्याय दिनुको साटो उल्टै साहुँ सुदखोरहरुको पक्षमा उभिएर जनतालाई दुख दिने काम ग¥र्यो ।
पीडितहरुको हुलमा भेटिन्छन् रामकवल उनलाई खुर्सानीले भन्दा बढी साहुका कारण मुटु पोल्छ उनी सुनाउछन् ऋण तिरौं भने तिरिसकें, नतिरौं साहुले घरजग्गा बन्धक फुकुवा गर्दैन । हामी काठमाडौंको सरकारसँग न्याय माग्न आएका हौं तर सरकारले हाम्रो पीडा देखेन बुझेन हाम्रो लागि सरकार भन्ने कुरा नरहेछ ।’

उनले २०६२ सालमा छोरा विदेश पठाउन भन्दै साहु जगदिश बानियाँबाट ८० हजार ऋण लिएका थिए । ऋण लिएको केही वर्षपछि समय समयमा गरी बानियाँलाई साढे ९ लाख रुपैयाँ बुझाइसकेको रामकवल बताउँछन् । तर बानियाँ अझै १ लाख ७३ हजार बाँकी रहेको भन्दै जग्गा फुकुवा गर्न मानिरहेका छैनन् । रामकवलको नाममा भएको ६ कठ्ठा जग्गामा चार कठ्ठा आठ धुर बानियाँले बन्धकमा राखेका छन् । ‘मलाई त मर्नु न बाँच्नु भएको छ । साहुले मेरो मात्रै नभई पुरै परिवारको बिचल्ली पारिदियो । सरकार मेरो घर घरबार बचाइदिनु पर्यो’ रामले निराश हुँदै भने ।

सुदखोरबाट भूमिहीन बनेकामध्ये अर्का पीडित हुन् रामसुवध महसुर । उनीसँग १५ कट्टा जमिन थियो । तर साहुको पञ्जामा परेपछि उनी सुकुम्बासी बनेका छन् ।
०७५ सालमा जगदिश बानियाँ र सुनिल बानियाँ दाजुभाइबाट साढे चार लाख रुपैयाँ ऋण लिएका उनले नगद मात्रै साढे नौ लाख बुझाइसके । तर साहुकारले उनको जमिन थाहै नपाउने गरी बेचिदिए । सात वर्षअघि ६ लाख ऋण लिएर २२ लाख नगद बुझाइसकेकी खुश्बुन नेशाको दुःखको फेहरिस्त झनै लामो छ । नेशाले १५ कठ्ठा जमिन बन्धक राखेर ऋण लिएकी थिइन् । तर २२ लाख बुझाइसक्दा पनि साहुले जमिन फिर्ता नदिएर अझै २९ लाख रुपैयाँ तिर भनिरहेको छ ।

khusbun गत वैशाखमा श्रीमान गुमाएकी एकल महिला हुन् खुश्बुन । वैशाख महिनाको एक दिन खुश्बुनका श्रीमान साहुको घर गए । उनले २२ लाख रुपैयाँ बुझाइसकेको भन्दै साहुलाई जमिन बन्धक फुकुवा गरिदिन भने । तर साहुले अझै २९ लाख रुपैयाँ तिर्न बाँकी रहेको सुनाए ।

घर गएर उनी केही दिनसम्म झोक्राइरहे । तर परिवारलाई बताएनन् । केही दिनपछि उनी बिरामी परे । उनलाई प्रतापपुर अस्पतालबाट बुटवल रेफर गरियो । बुटवलमा आईसीयूमा उपचार गरिरहेकै बेला उनको मृत्यु भयो । श्रीमानको मृत्यु भएपछि साहुले ताला चाबी लिएर घर आएको र निस्केर जा भनेको खुश्बुन बताउँछिन् । ‘श्रीमानले जग्गा बेचेर २२ लाख तिरिसकेको भनेर बित्नुभयो । तर साहु पैसा तिरेको प्रमाण के छ भन्दै अझै २९ लाख रुपैयाँ माग्छ । उनी भन्छिन्, ‘हामीले दिनुको सट्टा साहुले हामीबाट बढी असुलेको पैसा फिर्ता दिएर घरबारी फुकुवा गर्नुपर्छ।’

मिटर ब्याज पीडित तथा ठगी विरुद्ध किसान-मजदुर संघर्ष समिति नेपालका संयोजक अवधेश कुश्वाहाले मिटरब्याज र किसानको समस्या समधान नहुन्जेल निरन्तर धर्ना गरिरहने बताएका छन्। हामीलाई साहुले घरबारविहीन बनाए । हामीमध्ये धेरैको जमिन दृष्टिबन्धकमा राखेका छन् र धनीलाई थाहै नदिई जमिन बेचिदिएका छन् । हामी भूमिहीन बनेका छौं । सरकारसँग न्याय माग्न काठमाडौं आएका हौं । माग पूरा नभएसम्म घर फर्किदैनौं’ कुश्वाहाले आजको अर्थसँगको कुराकानिमा भने
 

सरकारसंगको सहमति र माग के थियो ?
२०७९ असोज १ गते गृहमन्त्रालयकोे तर्फबाट डा.भीष्मकुमार भूसाल र मिटरब्याज तथा ठगी विरुद्ध किसान- मजदुर संघर्ष समितिको तर्फबाट रामसुरत गुप्तावीच ५ बूँदे सहमति भएर मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदल गठन भएको थियो।

२०७९ चैत १८ गते गृहमन्त्रालयकै सहसचिव प्रदीपकुमार कोइराला र मिटरब्याज विरुद्धको संघर्ष समितिका संयोजक मनोज पासमानवीच अर्को ५ बुँदे सहमति भयो । यसरी भिन्नाभिन्नै समयमा गृहमन्त्रालयसंग सम्झौता गर्ने मिटर ब्याज पीडित पनि भिन्ना भिन्नै टोलीका थिए । तर दुवै टोलीको माग र उद्धेश्य मिटर ब्याज पीडितहरुलाई ऋणमुक्त र त्रासमुक्त बनाउनु थियो ।

यी दुवै समूहले सरकारबाट आश्वासन र विश्वास पाएर आआफ्नो आन्दोलन फिर्ता लिएर सरकारी कारवाहीको प्रतीक्षा गरि बसेका थिए । तर उनीहरुको माग सम्वोधन गर्ने तर्फ कुनै पनि कदम अघि नबढेको पाएपछि उनीहरु पुन आन्दोलित हुन गए ।

२०७९ असोज १ गते सरकारसंग सम्झौता गरेर फिर्ता भएका मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष रामसुरत गुप्ताले भने-सरकारसंग भएका दुवै सहमति अपूर्ण र साररहित छन् । त्यसैले ठोस कार्वाही अघि वढाउन माग गर्दै दोस्रो आन्दोलन गरेका हौं । यस समूहले सरकार समक्ष थप मागहरु राख्दै अविश्वास र असन्तुष्टि ब्यक्त गरेको छ । यस समूहले सरकारसंग गरेको पहिलो सम्झैतामा यी पाँच बुँदा थिए ।

१) मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको प्रतिवेदनमा उल्लिखित सिफारिस बमोजिम स्थानीय तह र स्थानीय प्रशासनका प्रतिनिधि र सरोकारवालाको संलग्नतामा लेनदेनका कागजहरु छानबिन गरी कानुन सम्मत कागजात पालिकामा अद्यावधिक गरी एक प्रति पालिकामा राख्ने र मिटरब्याजसँग सम्बन्धित देखिएका कागजात खिच्ने तथा अवैध घोषणा गर्ने तथा दृष्टिबन्धक खोल्नुपर्ने देखिएमा सो को लागि कानुन सम्मत सहजीकरण गर्ने । उल्लिखित प्रयोजनका लागि आवश्यक कार्यविधि तर्जुमा गरी पठाउने ।

२) मिटरब्याजी परिवारको सम्पत्ति छानबिनका सम्बन्धमा कार्यदनको सिफारिस बमोजिम गर्ने ।

३) मिटरब्याजीको निरन्तर मानसिक प्रताडना तथा हिंसाको कारण मृत्यु भएका ऋणीका परिवारहरुलाई राहत तथा क्षतिपूर्ति पीडकबाट भराउन आवश्यक व्यवस्था मिलाउने ।

४) ऋणीसँग ऋणको तमसुक गर्दा ऋणीले साँवा ब्याज चूक्क्ता गरेपछि फिर्ता गर्ने गरी साहु वा निजले इच्छाएको व्यक्तिका नाममा जग्गा रजिष्टे्रशन पास गरिदिएको तर कानुन सम्मत रुपले हुन आउने साँवा ब्याज पुरै चुक्ता गर्दा वा गर्न तयार हुँदा पनि जग्गा फिर्ता नगरेको पुष्टि हुन आएमा उक्त जग्गा जुनसुकै तहसम्म विक्री गरेको भए तापनि साहुले उक्त जग्गा फिर्ता नगरेको पुष्टि हुन आएमा उक्त जग्गा जुनसुकै तहसम्म विक्री गरेको भए तापनि साहुले उक्त जग्गा फिर्ता गर्न अन्तरनिकाय समन्वय गरी कानुनी ब्यवस्था गर्ने ।

५) सङ्घर्ष समितिका मागपत्रका सम्बन्धमा कार्यदलको प्रतिवेदनमा उल्लखित सिफारिसको कार्यान्वयनका लागि अन्तरनिकाय समन्वय गरी नेपाल सरकार मन्त्रिपरिषद्ले लिनु पर्ने आवश्यक निर्णयका लागि नेपाल सरकार मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्ने ।


सरकारसंगको सहमतिमा यी पाँच बुँदा परेको भएता पनि ७ महिना बितिसक्दा पनि सरकारको तर्फबाट कार्यदल समेत गठन हुन सकेन । कार्यदल गठन नहुँदा कारवाहीको लागि मन्त्रीपरिषद समक्ष सिफारिस हुन सकेन । फलत: मन्त्रीपरिषदले कारवाहीको प्रक्रिया अगाडि बढाउन सकेन । तर यसवीचमा मिटरब्याज पीडितहरुलाई मिटरब्याजी साहुहरुले अनेकन दुख र प्रताडना दिए पाए । यसरी सास्ती खेप्न परेपछि मिटर ब्याज पीडितहरुको सरकारमाथि विश्वास टुट्न गयो । उनीहरु अहिले सडकमा आन्दोलन गरिरहेका छन् । अहिले उनीहरुको माग पनि पहिलेको भन्दा भिन्न छ । जसको सम्वोधन गर्न सरकारले अर्को सहमति वा सम्झौता नगरी साम्य हुने देखिँदैन ।

त्यसको केही महिनापछि सरकारले मिटर ब्याज विरुद्धको संघर्ष समितिसँग फेरि दोस्रो पटक सहमति गर्यो जसमा निम्न ५ बुँदा परेका छन् ।

१) मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको मिति २०७९–०५–२७ को प्रतिवेदनमा उल्लिखित सिफारिसहरु शीघ्र एवं प्रभावकारी कार्यान्वयनको लागि सम्बद्ध निकायसँग आवश्यक समन्वय र सहजीकरण गर्ने ।

२) मिटरब्याजीहरुले निरक्षर, गरिब तथा आर्थिक रुपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरुसँग उच्च व्याजदरमा ऋण असुल्ने , वास्तविक लेनदेनभन्दा बढीको तमसूकरकागजात बनाउने ,ऋणीको जायजेथा आफ्नो कब्जामा लिने तथा ऋणको दुष्चक्रमा फसाई विभिन्न ढंगले शोषण समेत गर्ने गरेको गुनासो रहेकोले मिटरब्याज पीडितका समस्या सम्बोधनको लागि यो सहमति भए पश्चात बस्ने नेपाल सरकार, मन्त्रिपरिषद्को पहिलो बैठकबाट जाँचबुझ आयोग ऐन २०२६ बमोजिमको आयोग गठन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने ।

३) मिटरब्याज पीडितका नियमित रुपमा आउने उजुरी - गुनासोलाई सम्बोधनको लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्थित नेपाल प्रहरी, सरकारी वकिल, मालपोत, नापी कार्यालयका प्रमुख, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र मिटरब्याज पीडितको प्रतिनिधि समेत रहने गरी जिल्लास्तरीय समन्वय रसहजीकरण समिति गठन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने । उक्त समितिले बुँदा नं। २ बमोजिम गठन हुने आयोगको कामलाई सहयोग र सहजीकरण गर्ने, पीडितबाट उजुरी तथा गुनासो संकलन गर्ने, प्रमाण जुटाउन सहयोग गर्ने, निःशुल्क कानुनी सहायता तथा सचेतनाको लागि सहजीकरण गर्ने ।

४)अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी कार्यलाई कसुर कायम गर्ने गरी सम्बन्धित कानुनमा संशोधन प्रक्रिया अगाडि बढेकोले उक्त संशोधन प्रक्रियालाई शीध्र निष्कर्षमा पु¥याउन नेपाल सरकारलाई अनुरोध गर्ने।
५) बुँदा नं।२ बमोजिमको आयोग गठनको निर्णय भएसँगै मिटरब्याज विरुद्धको संघर्ष समिति, नेपालले गर्दै आएका आन्दोलनका सम्पुर्ण कार्यक्रमहरु फिर्ता लिने ।


यस सहमति बमोजिम सरकारले विशेष अदालतका पूर्वन्यायाधीश गौरिबहादुर कार्कीको नेतृत्वमा पूर्वप्रहरि नायवमहानिरिक्षक उत्तमराज सुवेदी र पूर्वनायवमहान्याधिवक्ता गणेशबाबु अर्याल रहेको तीन सदस्यीय आयोग गठन भैसकेको छ । यसको मुख्य कार्यालय जनकपुरमा रहने जनाईएको छ । यस आयोगलाई छानबिन गरि प्रतिवेदन पेश गर्न तीन महिनाको समय दिइएको छ ।


सरकारले आयोग गठन गरिदिएपछि पनि मिटर ब्याज पीडित आन्दोलनकारीहरुले चित्त बुझाएका छैनन् ।

मिटरब्याज तथा ठगी विरुद्ध किसान-मजदुर संघर्ष समितिका संयोजक अवधेश कुश्वाहा भन्छन् - यी दुबै सहमति अपूर्ण छ । यसले सरकारले सहमति ग¥र्यो भन्ने भ्रम सृजना गरेको छ, हाम्रो माग र पीडालाई यस्ले रत्तिभर छुन सकेको छैन यो सहमतिले त बरु तिनै मिटरब्याजी सुदखोरहरुलाई राहत मिल्छ हामी यो भ्रममा अल्झिन चाहादैनौ यसैकारण हामीले स्पष्ट माग राखेर निर्णयक आन्दोलन शुरु गरेका छौं हाम्रो मागको उचित सम्बोधन नहुन्जेल हामी आन्दोलनबाट पन्छिनेवाला छैनौ ।
हाल राखिएका नयाँ मागहरु निम्न छन्-

१) मिटरब्याज पीडितका जाहेरी जिल्ला प्रशासन कार्यालयले लिइरहेको छ । तर कानुनको अभावमा धेरै जाहेरी कारबाही प्रक्रियामा जाँदैनन् । उल्टै प्रशासनको दबाबमा प्रचलित कानुनले तोकेको १० प्रतिशत ब्याज विपरीत कतिपय मुद्धा अन्यायपुर्ण तरिकाले जबरजस्ती मिलाइन्छ । प्रशासनले न्यायपुर्ण ढङ्गले हलगर्न खोजेको सन्दर्भमा समेत सुदखोरहरुले अदालत दुरुपयोग गरेर मुद्धामाथिको कारबाही निष्प्रभावी बनाइरहेका छन् ।

२)फर्जी तमसुकको बलमा साहु–महाजनले धमाधम अदालत मार्फत किसानको जमिन हड्पिरहेका छन् । मिटरब्याजका तमसुक अवैध ठहर गर्दै अदालतमा जारी मुद्धा प्रक्रियालाई स्थगित नगरे किसानहरु भुमिबाट बेदखल हुने गति तीब्र हुन्छ । अहिलेको चुनौती नै यस्तो अवस्था तत्काल रोक्नु हो ।

३) मिटरब्याज सम्बन्धमा साहु–महाजनले अहिले तमसुकमात्र होइन चेकको सहारामा रकम प्रवाह गर्न वाध्य बनाइरहेका छन् । खाली चेकमा किसानलाई जबरजस्ती हस्ताक्षर गराउँदै चेक बाउन्स गर्ने मुद्धामा फसाउन थालिएको छ । यस्तो बलजफ्ती तत्काल रोकिनु पर्छ ।
यी तीनवटै परिस्थितिप्रति पछिल्लो सम्झौता मौन छ । समस्यालाई लम्ब्याउने कुनै पनि सम्झैताले मिटरब्याज विरुद्धको आन्दोलनलाई विश्वस्त बनाउने छैन । अहिलेको कानुनी आवश्यकता भनेको गृह हुँदै कानुन मन्त्रालय पुगेको मिटरब्याज विरुद्धमा कानुन मस्यौदालाई शीघ्र पूर्णता दिँदै नयाँ ऐन लागु गर्नु हो । आयोग गठन गरेर समय लम्ब्याउनु पीडित पक्षलाई अलमल्याउनु मात्र हो । कानुनको अभावमा किसानको जग्गा लिलाम भइरहने छ । प्रशासन संयन्त्रले प्रभावकारी तरिकाले काम गर्न सक्ने छैन ।


हामी चाहन्छौ, आन्दोलनकारीको सम्पूर्ण खाचो समेट्न विधमान मस्यौदा तत्काल सार्वजनिक गरियोस् साथै कानुन बनाउने कार्यलाई तीव्र गतिमा पूर्णता दिइयोस् । विधमान समस्या हल गर्न कानुन सहायक मात्र हुने छ । तर सत्तारुढ दलले यति समेत नचाहेको संकेत पछिल्लो सम्झौताबाट छर्लङ्ग छ । त्यसैले आन्दोलनलाई निर्णायक मोड दिन जरुरी छ । कानुनी आधारलाई बलियो बनाउन समेत सरकारले राजनीतिक प्रतिबद्धता प्रदर्शन गर्न अपरिहार्य छ । हामी चाहन्छौ, सरकारले मिटरब्याजका तमसुक अवैध भएको घोषणा तत्काल गरोस् । साथै मिटरब्याज विरुद्धका सम्पूर्ण मुद्धा तत्काल स्थगित गर्ने, फैसला भइसकेका मुद्धा पुनरावलोकन गर्ने र मिटरब्याजी साहु–महाजनको सम्पत्ति छानबिन गर्ने राजनीतिक बन्दोवस्त शीघ्र गरोस् । अन्यथा पीडितहरुको चेक बाउन्स हुने, जमिन खोसिने साथै पीडितहरु नै थुनिने कार्यले तीव्रता पाउँछ । यी मागहरु तत्काल पुरा गराउन निर्णायक संघर्षको लागि अपील गरिएको छ । यी मागहरु पुरा नभएसम्म आन्दोलन गरिरहने उनीहरुको माग छ ।

८ महिना अगाडि

प्रतिक्रिया