दुई बालबालिकालाई बोरामा राखी भारत लैजाँदै गरेका भारतीय नागरिक पक्राउ

सोमबार, ०४ भदौ २०८०, ०७ : ३२

काठमाडौं- नेपाली दुई बालबालिकालाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेका एक युवकलाई सिमावर्ती गाउँपालिका देवतालबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक टोपबहादुर डाँगीका अनुसार देवताल गाउँपालिका- ३ अमवा गाउँका शिवपुजन महतोकी ९ महिनाकी छोरी र प्रेमचन्द्र महतोका २ वर्षीय छोरालाई आइतबार उद्धार गरी नेपाल प्रहरीलाई जिम्मा लगाइएको छ ।

बालबालिका चोरी गरेको आरोपमा भारतको पूर्वीचम्पारण मूर्तिया ग्राम पञ्चायत वडा नं ४ आदापुरका २२ वर्षीय तबरेज आलमलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक डाँगीले बताए । आलममाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक डाँगीले बताए ।

उनका अनुसार बोरामा राखी भारततर्फ लैजाने क्रममा बच्चाहरु रोएको आवाज सुनेपछि उद्धार गरिएको हो । उद्धार गरिएका बालबालिकालाई आइतबार नै अभिभावकको जिम्मा लगाइएको छ । नियन्त्रणमा लिएका २२ वर्षीय तबरेज आलमलाई अनुसन्धानमा राखिएको छ , अनुसन्धानपछि कानुन बमोजीम कार्वाहीको दायरामा लैजाने प्रहरी भनाई छ । 

सोमबार, ०४ भदौ २०८०, ०७ : ३२

प्रतिक्रिया