बारामा तीर्थयात्री बोकेको बस दुर्घटना, ७ जनाको मृत्यु १९ जना गम्भिर घाईते

विहीबार, ०७ भदौ २०८०, ०८ : ०२

काठमाडौं : भारतीय तीर्थयात्री बोकेको बस बाराको जितपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४ जना महिला र ३ जना पुरुष रहेका छन्। मृतकमध्ये ६ जना भारतीय र एकजना नेपाली परेका हुन्।

काठमाडौंबाट जनकपुर जाँदै गरेको प्रदेश २–०३–००१ ख ७९९४ नम्बरको बस दुर्घटनाग्रस्त भएको बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीलेले जानकारी दिएका छन्। ‘जनकपुरबाट काठमाडौं पुगेर, त्यहाँबाट फर्किएर जनकपुर नै आउन लागेको बस राति अन्दाजी एक बजे दुर्घटनाग्रस्त हुन पुगेको हो ,’ बोगटीका अनुसार घाइते १७ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा १९ जना घाइते भएका छन् । उनीहरूको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

चालकसहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र यसबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए।
 

विहीबार, ०७ भदौ २०८०, ०८ : ०२

प्रतिक्रिया