काठमाडौं- उत्कृष्ट स्याउ पाइने डोल्पाको ठूलीभेरी, त्रिपुरासुन्दरी नगरपालिकाको विभिन्न ठाउँमा स्याउ खरिद गर्नका लागि व्यापारी बोटमै पुगेका छन् ।
गाउँगाउँमा रहेका खेतबारीमा लटरम्म स्याउ फलेका स्याउले ठूलीभेरी, त्रिपुरासुन्दरीका गाउँबस्ती रङ्गिएका हुन् । त्रिपुरासुन्दरी नगरपालिका-३ स्थित सुँ, जिउँ, वडा नम्बर ४ को रङ्गमा कृषकले व्यावसायिक रूपमा स्याउ खेती गर्दै आएका छन् ।
त्यस्तै वडा नम्बर ७ मा पर्ने जुफाल, ८ र ९ मा पर्ने डाँगीबाडा वडा नम्बर ४, ५ र ११ मा पर्ने लोचा, थाला, तिप्ला र रह गाउँमा प्रसस्त स्याउ उत्पादन हुने गरेको छ ।
स्याउ बोटमा राम्रोसँग नपाक्दै ५० प्रतिशत स्याउ बिक्री गरिसकेको कृषि विकास कार्यालय डोल्पाले जनाएको छ । बजारको अभावमा प्रत्येक वर्ष कृषकले उत्पादन गरे जतिको सबै स्याउ बिक्री नहुने भएकाले काँचै स्याउ विचौलिया व्यापारीलाई प्रतिकिलो २० देखि ३० रुपैयाँ बेच्न बाध्य भएको कार्यालयको भनाइ छ ।
जिल्लामा स्याउको राजधानीको रूपमा परिचित रङ्ग गाउँमा ‘एक घर, एक स्याउ बगैँचा’ छ । प्रत्येक वर्ष एउटै घरमा न्यूनतम दश क्विन्टलसम्म स्याउ फल्ने गरे पनि व्यापारीले सबै खरिद नगर्ने कृषकको गुनासो छ । स्याउ बगानमा तीन वर्षयतादेखि नेपालगञ्ज, सुर्खेत, जाजरकोट, रुकुमलगायत जिल्लाबाट स्याउ किन्न व्यापारी घरमै पुग्ने गरेका छन् ।
“स्याउ राम्रोसँग भदौ अन्तिममा पाक्छ, तर व्यापारी कृषकको समस्याको फाइदा उठाउन साउन अन्तिममै गाउँमा आइपुग्छन्, कृषक बाध्य भएर मात्र रु २० देखि ३० मा स्याउ बगैँचा जिम्मा लाउन बाध्य हुनुपर्छ”,।
“राम्रोसँग पाकेको स्याउको स्वादै मिठो हुन्छ, यहाँबाट सस्तो मूल्यमा लिएको काँचै स्याउ पनि व्यापारीले नेपालगञ्ज, सुर्खेत, काठमाडौँलगायत सहरमा प्रतिकिलो रु दुई सयभन्दा धेरैमा बेच्ने गर्छन्”, । अहिले स्याउका बोटमा हाँगा, फेदबाट बोक्रा निस्कने र त्यसपछि स्याउका बोटै सुक्न थालेको कृषकले बताएका छन् ।
नगरपालिकाले कृषि प्राविधिक पठाएर कृषकको समस्या समाधान गरिदिन आग्रह गरेका छन् । त्यसैगरी वडा नम्बर ३ जिउँका कृषक रामबहादुर गुरुङले पनि तीन सय बोट स्याउ रोपेका छन्। उहाँको बगैँचामा प्रत्येक वर्ष तीस क्विन्टलसम्म स्याउ फल्ने गर्छ, तर उनलाई पनि प्रत्येक वर्ष उत्पादित सबै स्याउ बिक्री नहुने चिन्ताले पिरोल्ने गर्दछ ।
“बगैँचा नै राताम्य हुने स्याउ फलेको छ, डोल्पामा सबै स्याउ खपत हुने ठूलो बजार छैन, जिल्ला बाहिरका बजारमा लैजाउँ भने कच्ची बाटो र ठाउँठाउँमा पुल नहुँदा एक दर्जनभन्दा धेरै ठाउँमा गाडी परिवर्तन गर्नुपर्छ, यसरी लैजाँदा स्याउको मूल्यभन्दा ढुवानी रकम धेरै हुन्छ”, उनले भने, “डोल्पासम्म सडकको राम्रो सुविधा भएको भए बर्सेनि लाखौँ रुपैयाँ डोल्पाली कृषकले कमाउँथे, जिल्ला बाहिरबाट काँचै स्याउ सस्तो मूल्यमा किन्ने व्यापारी त आएका छन्, भने जतिको मूल्य नपाइने भएकाले बिक्री गरेको छैन ।”
प्रतिक्रिया