काठमाडौ: अमेरिकाको सहयोगमा सुरु भएको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसिसी) को दिनगन्ती आज बुधबारबाट सुरु भएको छ।
एमसिसी कम्प्याक्ट पूर्वतयारीका सर्त पूरा नगरी बुधबारबाट कार्यान्वयनमा गएको हो। साउन ३१ मा बसेको एमसिसीको नेपालस्थित सम्पर्क कार्यालय ‘मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति’ (एमसिए–नेपाल) सञ्चालक समिति बैठकले दिनगन्ती हुने दिन भदौ १३ अर्थात आजलाई लाई ‘इन्ट्री इन्टु फोर्स’ (इआइएफ) मिति तोकेको छ।
इआइएफको मिति घोषणा भएको पाँच वर्षभित्र विद्युत प्रसारण लाइन र सडक मर्मतको काम सकिनुपर्ने छ। नसकिए सहयोग रकम फिर्ता हुनेछ। इआइएफको चरणमा पुग्न ६ पूर्वसर्त थिए। जसमध्ये पाँच पूरा भएका छन्।
यी हुन् इआइएफअघि पूरा गर्नुपर्ने ६ सर्त
१)एमसिसी परियोजना नेपालमा लागू गर्न संसदबाट अनुमोदन गर्नुपर्ने
२)एमसिसी कार्यक्रम कार्यान्वयनका लागि सम्झौतामा हस्ताक्षर गर्ने
३) परियोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्ने
४) नियामक निकायका रूपमा विद्युत नियमन आयोग गठन गर्ने
५) बुटवल–गोरखपुर प्रसारणलाइन निर्माणमा भारतको सहमति लिनुपर्ने
६) जग्गा प्राप्तिको काम सम्पन्न गर्नुपर्ने
निर्माण चरणमा जानुअघि पहिला पूरा गर्नुपर्ने ६ सर्तमध्ये जग्गा प्राप्तिको काम बाँकी रहेको एमसिए नेपालले जनाएको छ। तर, जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पर्याप्त र सन्तोषजनकरूपमा अघि बढेकाले इआइएफमा प्रवेश गर्न एमसिसी परियोजनाले स्वीकृति दिएको एमसिए नेपालका अधिकारीहरू बताउँछन्। यद्यपि, जग्गा प्राप्ति सबैभन्दा जटिल काम हो।
एमसिए–नेपालअन्तर्गत बन्ने विद्युत प्रसारण आयोजनाका लागि कूल १ हजार ४ सय ७१ हेक्टर र नुवाकोटमा निर्माण गरिने रातमाटे सबस्टेसनका लागि करिब २० हेक्टर क्षेत्रफल जग्गा आवश्यक पर्छ। प्रसारणलाइनमा पर्ने करिब ८ सय ५६ विद्युत प्रसारण टावर बनाउन १ सय ४ हेक्टर जग्गा आवश्यक पर्छ भने भोगाधिकार क्षेत्रअन्तर्गत १ हजार ३ सय ४७ हेक्टर जग्गा छ।
प्रतिक्रिया