हरेक युवाको आखामा सपनाका गहिराई हुनुपर्छ : एनसेल सीईओ जाब्बोर

७ महिना अगाडि

काठमाडौंः एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित ‘काठमाडौं युथ कन्क्लेभ (केवाईसी), २०८०’ मा सहभागी युवाहरूलाई प्रेरणा र प्रोत्साहन प्रदान गदै युवाले ठूला सपना देख्नुपर्ने बताएका हुन ।

युवाकेन्द्रित उक्त कार्यक्रममा विभिन्न शैक्षिक पृष्ठभूमि, समुदाय र भौगोलिक स्थानका करिब ५ हजार युवाहरूको सहभागिता थियो । यस वर्षको ‘केवाईसी’ संस्करणको विषय ‘इन्स्पायरिङ युथ, लिडिङ द नेसन’ थियो । जाब्बोरले कार्यक्रममा प्रेरणादायी वक्ताका रूपमा सहभागिता जनाएका थिए ।

 १६ देखि २५ वर्ष उमेर समूहका युवाहरुको सो भेलामा जाब्बोरले आफ्नो प्रस्तुति राख्दै युवाहरूलाई थप सिक्ने भोक र लगनशीलताका साथ लक्ष्यमा अधि बढ्न प्रेरित गरे । जाब्बोरले युवाहरूलाई प्रतिस्पर्धी बन्न, आफ्नो इच्छाअनुसार काम गर्न र त्यसलाई वास्तविकतामा परिणत गर्न प्रोत्साहित गरे । उनले भने, “प्रतिस्पर्धाले तपाईंलाई राम्रो बनाउँछ । राम्रा प्रतिस्पर्धीहरूले तपाईंलाई अझ राम्रो बनाउँछन् ।”

उत्साही युवाहरूसँग आफ्ना प्रेरणादायी यात्रा, नेतृत्वका मुख्य सिद्धान्त र अनुभव बाँड्दै जाब्बोरले योजनाको महत्त्व र लगनशीलतामा जोड दिनु पर्ने बताए । “यदि तपाईं अझ राम्रो गर्न चाहनुहुन्छ र ठूलो सफलता हासिल गर्न चाहनुहुन्छ भने तपाईंले सपना देख्नु पर्छ,” उनले भने, “आफूले विश्वास गरेको कुरा सिक्ने जोस हुनुपर्छ र त्यसलाई भिजुअलाइज गर्नुपर्छ ।”

कार्यक्रममा प्रख्यात नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत, चर्चित मास्टरशेफ सन्तोष शाह, ट्रेल रनर मीरा राई, ईसेवाका सीईओ जगदीश खड्का, क्रिकेटर पारस खड्का र रूपेश्वर गौरा दासजस्ता प्रेरणादायी वक्ताहरू थिए ।

विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्न सफल व्यक्तित्वहरूको अनुभव र ज्ञान युवाहरूमाझ बाँडेर हौसला बढाउने यस सम्मेलनको प्रमुख उद्देश्य थियो । यो सम्मेलन युनिभर्सल कलेज र फिनिक्स कलेजको सहकार्यमा आयोजना गरिएको थियो ।
 

७ महिना अगाडि

प्रतिक्रिया